भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । मुख्य सडक बन्द भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । तर सडक बिग्रिएको, ठाउँ–ठाउँमा जाम भएको तथा बाटो कठिन भएकाले राहत सामग्री बोकेर जानेहरूलाई समेत समस्या भएको छ । स्वयंसेवक शैलेन्द्र पन्थीका अनुसार उनीहरू सातवटा गाडीमा राहत सामग्री लिएर रसुवा जाँदै थिए । तर बाटोको कठिन अवस्थाका कारण एउटा गाडी अघि बढ्न नसकेपछि फिर्ता गर्नुपरेको र उक्त सामग्री तलैको होल्डिङ सेन्टरमा वितरण गरिएको उनले बताए । ‘हामी अहिले राहत सामग्री लिएर रसुवा जाँदैछौँ । सातवटा गाडी छन् । एउटा गाडी आउन नसकेर फिर्ता गर्‍यौं । अर्को होल्डिङ सेन्टरमा डिस्ट्रिब्युट गर्‍यौं’, पन्थीले भने । उनका अनुसार उनीहरू कुनै संस्था वा औपचारिक निकायमार्फत नभई स्वयंसेवकका रूपमा राहत सामग्री संकलन गरेर प्रभावित क्षेत्रमा पुर्‍याइरहेका छन् । ‘निकै गाह्रो छ । हामी कुनै संस्थाबाट होइनौँ, नितान्त स्वयंसेवक तरिकाले राहत सामग्री सङ्कलन गरेर वितरण गरिरहेका छौँ,’ उनले भने । मुख्य राजमार्ग बन्द भएपछि प्रयोगमा आएको वैकल्पिक रुटमा अहिले ठूलो जामसमेत रहेको पन्थीले बताए । विशेष गरी घिचेत क्षेत्रमा सडक बिग्रिएकाले सवारी आवागमन प्रभावित भएको हो ।  राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुग्न खोजिरहेका स्वयंसेवक तथा अन्य व्यक्तिहरूले बाटोको कठिन अवस्थाका कारण बीचबाटै फर्किनुपरेकाे समेत बताइएको छ । भोटेकोशी बाढीपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवा जाने वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ । सडकको अवस्था कमजोर र साँघुरो भएकाले राहत सामग्री बोकेका सवारीसाधनलाई समेत गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार