सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनसँगको रसुवागढी सीमानजिकबाट आएको बाढीका कारण त्यस क्षेत्रमा रहेका कैयौँ जलविद्युत् आयोजनामा कार्यरत करिब १,००० मानिसहरू अझैसम्म सम्पर्कविहीन रहेको आशङ्का गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जलविद्युत् आयोजनाहरूबाट मात्रै ९३३ जना सम्पर्कविहीन रहेको जनाएको छ । त्यसमध्ये ४०० जना भन्दा धेरै मानिसहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्रै फसेका र उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यले शुक्रवार विभिन्न जलविद्युत् आयोजनाका प्रवर्धकहरूसँग छलफलपछि सम्पर्कविहीन र फसेका मानिसहरूको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएका छन् । प्रवक्ता शाक्यका अनुसार कोरियाली लगानीको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै ४०० जना भन्दा धेरै मानिसहरू सुरुङभित्रै फसेको आशङ्का गरिएको छ । ‘जलविद्युत् आयोजनाहरूमा काम गर्ने करिब १,००० जना भन्दा धेरै सम्पर्कविहीन भएको तथ्याङ्क आएको छ,’ शाक्यले भने । ‘सबैभन्दा धेरै अपर त्रिशूली १ मा सम्पर्कविहीन हुनुहुन्छ । त्यहाँ करिब ४०० जना सुरुङमै फसेको भन्ने प्रारम्भिक जानकारी छ । सुरुङभन्दा बाहिर रहनुभएका १७६ जना सम्पर्कविहीन हुनुहुन्छ ।’
खाना र पानीको अभाव आयोजनाका सम्पर्क अधिकारी गिरी अधिकारीका अनुसार आयोजनाको १० किलोमिटर लामो सुरुङको मुखबाट सुरुङभित्र लेदो पसेका कारण उद्धारमा कठिनाइ भएको छ । ‘यो ब्रेक थ्रू (वारपार) भइसकेको सुरुङ हो । अडिट टनेलहरू (आपत्कालीन प्रवेशमार्ग) टालिएका छैनन् । त्यसकारण भित्र अक्सिजनको कमी नहुनु पर्ने हो । भित्र खाना र पानीको अभाव छ । समयमै उद्धार हुन सके भित्र रहेकाहरू जीवितै रहेको अनुमान छ,’ अधिकारी भन्छन् । उनका अनुसार सुरुङ भित्रबाट चार जना कामदारहरू बिहीवार आफ्नै प्रयासमा बाहिर निस्किएका थिए । उनीहरूले सुरुङभित्र करिब ४०० जना रहेको जानकारी दिएको र त्यस दिन सुरुङभित्रको काममा खटाइएका व्यक्तिहरूको सङ्ख्या पनि त्यति नै देखिएको आयोजनाले जनाएको छ । सुरुङ प्रवेश गर्ने सबै पहुँच मार्ग बगाएका कारण भीरमा हेलिकप्टरमा झुन्डिएर मात्रै सुरुङभित्र जान सकिने अवस्था रहेको आयोजनाका सम्पर्क व्यक्ति अधिकारीलेले जानकारी दिए । कुल १२६ मेगावाट क्षमताको यो आयोजनामा कोरियाली, चिनियाँ र भारतीय सहित नेपाली कामदारहरू कार्यरत थिए । यो आयोजनामा १०० जना चिनियाँ कार्यरत रहेको र त्यसमध्ये केही मानिसहरूको उद्धार गरिएको उनले बताए । अधिकारीका अनुसार आयोजनामा कार्यरत ४० जना भारतीय र ८ जना कोरियालीहरू सम्पर्कविहीन छन् । करिब ८० प्रतिशत निर्माण कार्य सकिएको यो आयोजनामा बाढीभन्दा अघिसम्म १,३५० जना कार्यरत रहेको दैनिक हाजिरीमा देखिएको उनले बताएका छन् । तीमध्ये हालसम्म २५४ जनाको जीवितै उद्धार गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ताले बताएका छन् । उद्धार गरिएका अधिकांश कामदारहरू सुरुङ बाहिरै रहेको आयोजनाका सम्पर्क व्यक्ति गिरी अधिकारीले बताए । सुरुङ बाहिर रहेका करिब २०० जना पनि सम्पर्कविहीन रहेको आयोजनाका अधिकारीले बताएका छन् । सम्पर्क बाहिर रहेका मध्ये केही कामदारहरू आयोजनाभन्दा माथिका गाउँतर्फ भागेर गएको र सम्पर्क हुन नसकेको हुनसक्ने सम्भावना समेत रहेको उनले बताए ।
कुन आयोजनाबाट कति सम्पर्कविहीन रसुवा र नुवाकोटका गरी नौ वटा आयोजनाबाट मानिसहरू सम्पर्कविहीन रहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका सल्लाहकार गणेश कार्कीले जानकारी दिए । ऊर्जा मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन् । त्यसै गरी अपर अपर त्रिशूली ३ ए मा ४३ जना सम्पर्कविहीन भएकोमा ३० जना सुरुङभित्रै रहेको आशङ्का गरिएको छ । यो आयोजनाबाट सम्पर्कविहीन रहेका ११ जना सम्पर्कमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यो आयोजना मर्मतका लागि सुरुङभित्र रहेको उत्पादन गृहमा मानिसहरू पुगेका समयमा बाढी प्रवेश गरेको थियो । ‘अन्डरग्राउन्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ,’ प्राधिकरणले भनेको छ । अपर त्रिशूली ३ बी बाट पनि १५८ सम्पर्कविहीन भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यो आयोजनाको शिविर रहेको क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको अवस्थामा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । ‘अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बीच उद्धार तथा पहुँच स्थापना गर्ने कार्य निरन्तर अगाडि बढिरहेको छ । हेलिकप्टरबाट आयोजनास्थलको बारम्बार हवाई निरीक्षण गरी अवस्था मूल्याङ्कन भइरहेको छ । साथै, आवश्यक उपकरण एक्स्काभेटर समेत हेलिकप्टरमार्फत् घटनास्थलमा ढुवानी गरी काम सुरु गरिएको छ,’ प्राधिकरणले भनेको छ । ऊर्जा मन्त्रालयका अनुसार चिलिमे जलविद्युत् आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन छन् । उनीहरू सुुरुङभित्रै रहेको ठानिएको छ । निजी ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका अध्यक्ष मोहन डाँगीले लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६२ जनामध्ये १८ जनाको जीवितै उद्धार गरिएको जानकारी दिए । उनका अनुसार उक्त आयोजनाबाट थप मानिसहरूको पनि जीवित उद्धार गर्ने आशा गरिएको छ । भोटेकोशी–त्रिशूली क्षेत्रमा निर्माणाधीन र सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । त्यसै गरी माथिल्लो मैलुङ ए र मैलुङ खोला आयोजनाबाट ७–७ जना, लाङटाङ भोटेकोशीबाट दुई चिनियाँ सहित चार जना साथै मध्य त्रिशूलीबाट २ जना सम्पर्कविहीन छन् ।
‘हेलो सरकार सुरुङको मुखमा छौँ’ प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारमा सुरुङको मुखमा फसेका मानिसहरूले टेलिफोन गरेर गुहार मागेको कार्यालयका चन्द्रशेर रानाले बताएका छन् । रानाका २१६ मेगावाटको यही आयोजनाबाट मानिसहरूले गुहार मागेका थिए । ‘सुरुङको मुखमा छौँ । हात उठाइरहेका छौँ हेलिकप्टर पठाइदिनुपर्यो भनेर फोन आएपछि हामीले सम्बन्धित निकायमा खबर गरेका थियौँ । उनीहरूको उद्धार भयो भन्ने जानकारी छ,’ रानाले भने । हेलो सरकार कक्षका अनुसार बुधवार ११ बजेबाट शुक्रवार बिहानसम्म ६,६०० भन्दा धेरै टेलिफोन हेलो सरकारमा आएका छन् । ‘धेरैले आफन्तको खोजी गरिदिन भन्नुभएको छ । कसैले उद्धार र राहत चाहियो भनेर पनि सम्पर्क गर्नु भएको छ,’ रानाले भने ।