विपद् व्यवस्थापनमा १५ हजार सुरक्षाकर्मी परिचालन 

४ हजार ४ सय बढीको उद्धार : प्रधानमन्त्री
शुक्रबार, भदौ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशको विपद् परिस्थिति र राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् । विपद्को यो कठिन समयमा राज्य प्रत्येक नागरिकको साथमा रहेको र उद्धारको प्रतीक्षामा रहेकाहरूसम्म सुरक्षाकर्मी पुग्ने उनले बताएका छन् । प्रधानमन्त्रीले फेसबुकबाट दिएको जानकारी अनुसार खोज तथा उद्धारका लागि हालसम्म १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ७ सय ५५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उनीहरू मुख्य गरी रसुवा, भोटेकोशी र त्रिशूली करिडोरका प्रभावित क्षेत्रमा केन्द्रित छन् । हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ, जसमा जलविद्युत सुरुङमा फसेका १९१ जना र हवाई उद्धारमार्फत निकालिएका ५१७ जना सामेल छन्। नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकोप्टरले धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसी लगायतका क्षेत्रमा ९९ पटक उडान गरी उद्धार कार्य गरिरहेका छन् । उद्धारसँगै राहत वितरणलाई पनि तीव्रता दिइएको छ। हालसम्म ३२ ट्रक र हेलिकोप्टरमार्फत ६ पटक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। सुरुङमा फसेका कामदारको उद्धारलाई प्राथमिकता दिँदै अपर त्रिशूली र रसुवागढी जलविद्युत केन्द्रमा विशेष उपकरणसहित खोजी जारी छ ।
सुरक्षाकर्मीहरूले रसुवादेखि नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा बेपत्ताहरूको खोजी गरिरहेका छन्। विदेशी नागरिकको हकमा १२९ जनाको पहिचान र उद्धार भएको छ भने परराष्ट्र मन्त्रालयले दूतावासहरूसँग समन्वय गर्न इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालन गरेको छ । विदेशी सहयोगका बारेमा बाहिर आएका हल्ला भ्रामक रहेको बताउँदै प्रधानमन्त्रीले भारत, चीन र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय भइरहेको स्पष्ट पारेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै २ लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको र गृहमन्त्री स्वयं स्थलगत समन्वयमा खटिएका छन् । सडक पूर्वाधारतर्फ काठमाडौँ–मुग्लिङ सडक एकतर्फी खुलेको छ भने रसुवालाई वैकल्पिक सडकमार्फत पुनः जोडिएको छ । क्षतिग्रस्त पुलहरूको विकल्पका लागि भारत र चीनबाट १० वटा बेली ब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको छ । खानेपानी र सरसफाइका लागि नुवाकोटमा वाटर ट्याङ्कर र ब्लिचिङ पाउडर पठाइएको छ भने इन्धनको मौज्दात सुनिश्चित गरिएको छ । स्वास्थ्य सेवाका लागि ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको र वीर तथा ट्रमा सेन्टरबाट मेडिकल टोली परिचालन गरिएको छ। सञ्चार सेवातर्फ अवरुद्ध भएका १९८ टावरमध्ये १४५ वटा सञ्चालनमा आइसकेका छन्। विद्युत सेवा पनि नुवाकोटको ९० प्रतिशत क्षेत्रमा सुचारु भएको छ । आर्थिक सहयोगका सम्बन्धमा प्रधानमन्त्रीले बाढी प्रभावित १५ वटा स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको जानकारी दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाभित्र १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
राहत र पुनस्र्थापनाका लागि ुबिजनेस रिकभरी प्याकेजु तयार गरिँदै छ। सहयोग स्वरुप प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार