सोसल मिडिया
Contact Us
युनिकोड
डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए । हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा भएका अधुरा–अपुरा कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको प्रक्रिया पूरा गर्दै १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । करिब ३८ वर्षअघि नापनक्सा भएर पनि स्वामित्वको कानुनी प्रमाण प्राप्त गर्न नसकेका स्थानीयले लामो समयपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका हुन् ।