बेलायती प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रान्सेली नागरिकताका लागि आवेदन दिने

इयूबाट अलग हुने बेलायतको निर्णयको असर 
शनिबार, पुस १८, २०७७

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रान्सको नागरिकता लिनका लागि आवेदन दिन लागेको बताएका छन् । बेलायत युरोपेली संघ इयूबाट औपचारिक रूपमै शुक्रवारदेखि अलग्गिएको छ । स्टेन्ली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग कुरा गर्दै आफ्नी आमा फ्रान्समा जन्मिएकाले आफू फ्रेन्चको रूपमा रहन चाहेको बताएका हुन् । असी वर्षीय उनी कन्जर्भेटिभ दलका तर्फबाट युरोपेली संसद्का पूर्वसदस्य हुन् । सन् २०१६ को जनमतसग्रहमा उनले इयूमै रहनका लागि मतदान गरेका थिए । उनका छोराले इयूबाट बाहिरिने अभियानको नेतृत्व गरेका थिए र अन्ततः प्रधानमन्त्रीका रूपमा उनैले इयूबाट ब्रिटेनलाई बाहिर निकाले । 

किन फ्रान्सको नागरिकता?
स्टेन्ली जोनसनले इयूका व्यापार नियमबाट यूके अलग्गिनुभन्दा केही घण्टाअघि फ्रेन्च नागरिकता खोज्नुका आफ्ना कारण कारण खुलाएका थिए ।
‘यो फ्रेन्च बन्ने कुरा होइन’ उनको भनाइ थियो, ‘मसँग जे पहिल्यै थियो यो त्यही पुर्नदाबी गर्ने कुरा हो ।’ उनले आफ्नी आमा फ्रेन्च आमाबाटै फ्रान्समा जन्मिएको बताउँदै थपेः ‘म सधैँ युरोपेली रहनेछु ।’ उनले सन् १९७९ मा युरोपेली संसद्को सिट जितेका थिए । त्यति बेला उक्त संसद्को पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो । जसका कारण प्रधानमन्त्री जोनसनले आफ्नो बाल्यकालको एउटा समय ब्रसेल्समा बिताएका थिए ।

परिवारमा विभाजन
ब्रेक्जिटको मुद्दाले जोनसन परिवारलाई विभाजित पारेको छ । पत्रकार रहेकी प्रधानमन्त्रीकी बहिनी रचेन जोनसनले सन् २०१७ को चुनावअघि कन्जर्भेटिभ पार्टी छाडेर ब्रेक्जिटविरुद्ध विरोधमा उत्रिएकी थिइन् । कन्जर्भेटिभ दलकै सांसद रहेका भाइ जो जोनसनले इयूसँग नजिकको सम्बन्ध राख्ने विषयमा आफ्नो समर्थन दर्साउन सन् २०१८ मा मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।–बीबीसी 
 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार