साउनमा भरिभराउ गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिर

विश्वभरका धार्मिक पर्यटक भित्र्याउने लक्ष्य
मंगलबार, साउन १९, २०८३

ललितपुर । काठमाडौं सिनामंगलकी सिर्जना रोक्का करिब सात बर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिरमा दर्शन गरेर फर्किएकी थिइन । लामो समयदेखि निःसन्तान भएकाले सन्तान प्राप्तीका लागि कामना गरेकी थिइन । दर्शन गरेको डेढ बर्षपछि उनले सप्तान प्राप्त भयो । ‘करिब सात बर्ष पहिले मन्दिरमा सन्तान प्राप्त होस भनेर कामना गर्न आएकी थिए । यहाँ विधिपूर्वक पूजा गरेर फर्किएको डेढ बर्षपछि मेरो सन्तान भयो । जे मागेकी थिए पूरा भयो । त्यसैले सन्तानेश्वर महादेवप्रति विश्वास छ,’ नेपाल न्यूज बैंकसँग उनले सुनाइन ।  साउनको तेस्रो सोमबार सन्तानेश्वरमै दर्शन गर्न पुगेकी उर्मिला थापा पनि मन्दिरमा पुगेर दर्शन गर्दा जे माग्यो त्यही पुग्छ भन्ने विश्वास गर्छिन् । ‘यो आस्था हो भगवानप्रति, विश्वास हो । यहाँ दर्शन गरेपछि सन्तान प्राप्त भएको धेरैले सुनाउनु भएको छ । मलाई पनि ठूलो विश्वास छ,’ थापाले भनिन् । समुन्द्री सतहबाट १५०७ मिटरको उचाईमा रहेको यो मन्दिर पछिल्लो समय चर्चामा छ । भक्तजनहरुको थामिनसक्नु भीड छ । साउन महिनाका हरेक सोमबार भक्तालुहरुको घुइँचो लागिरहेको छ । साउनका हरेक सोमबार मन्दिरको प्राग्ङण भरिभराउ देखिने गरेको छ ।  गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको विश्वास मानिएको मन्दिरको आफ्नैखाले धार्मिक एवम पौराणिक विश्वास छ । पौराणिककालमा बाह्रैवटै राशीहरु यस स्थानमा आएर शिवजीको तपस्या आराधना गरेको हुनाले यस स्थानको नाम झरुवारासी रहेको भन्ने जनविश्वास छ । पौराणिक किंबदन्ती अनुसार द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको लागि यहाँ आएर शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश छोरा र एक छोरी प्राप्त भएका थिए । मन्दिरका पूजारी गंगाराम गौतमका अनुसार सन्तानका ईश्वर भएकाले सन्तानेश्वर भनिएको हो । ‘जुनबेला सतीदेवी सती जानुभयो, त्यस पछाडि महादेवले लिएर घुम्ने क्रममा यहाँ आइपुग्दा सतीदेवीको माथिल्लो ओठ पतन भई सन्तानेश्वर महादेव उत्पत्ति हुनुभएको हो । निःसन्तान दम्पत्तिका लागि सन्तान प्राप्त हुने विश्वास मात्र होइन व्यवहारमै सन्तान प्राप्त भएको धेरैले सुनाउने गरेका छन् । विशेष गरेर साउनको सोमबार चाहिँ असाध्यै भीडभाड हुन्छ,’ गौतमले भने । मन्दिरमा हरितालिका तीज, जनै पूर्णिमा, नयाँ बर्षमा अत्याधिक भीड हुने गरेको गौतमले जानकारी दिए । ‘यहाँ मेचीदेखि महाकाली मात्र नभएर देश–विदेशदेखि पनि सन्तान प्राप्तीको भाकल लिएर यहाँ आउनुहुन्छ,’ उनले अगाडि भने,‘म जुनसुकै बेला मन्दिरमै हुन्छु । हरेक दिन तीनचार जोडी सन्तान प्राप्तीको कामना गर्दै मन्दिरमा पूजा गरिरहनु भएको हुन्छ । १२ बर्षसम्म सन्तान नभएकाहरु यहाँ दर्शन गरेपछि सन्तान प्राप्त भएको अनुभव सुनाउने गर्नुहुन्छ ।’ सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वत संरक्षण तथा सम्बद्र्धन सेवा संघमा आवद्ध पवन रावलका अनुसार मन्दिरप्रति धेरै व्यक्तिहरुको आस्था र विश्वास छ । ‘मन्दिरप्रति धार्मिक विश्वास बढेपछि हामीले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छौं । २०६८ सालमा गुरु योजना नै बनाएर विकास गरिरहेका छौं,’ उनले भने । मन्दिरलाई नगरपालिका, स्थानीयबासी, दान र व्यवस्थापन समितिको अगुवाइमा मन्दिरको भौतिक पूर्वाधार बृहत सुधार गरेपछि दिनहुँ भक्तजनहरुको संख्या बढ्दै गएको छ । गोदावरी नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष भाष्कर थापाका अनुसार नगरपालिका र सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वत संरक्षण तथा सम्बद्र्धन सेवा संघको संयुक्त पहलमा प्रशस्त कामहरु भएका छन् ।  ‘५०–५० प्रतिशतका हिसाबले पूर्वाधारको काम भइरहेको छ । मन्दिर समितिका अध्यक्ष आफैं इन्जिनियर भएकाले पूर्वाधारको डिजाइनमा ठूलो सघाउ पुगेको छ । हामीले वडा र नगरपालिकामार्फत बर्षेनी विभिन्न शिर्षकमा बजेट विनियोजन गरेर काम गरिरहेका छौं । यसलाई विश्वभर चिनाउने हाम्रो लक्ष्य हो,’ थापाले भने । सन्तानेश्वर मन्दिरमा पुग्नका लागि सातदोबाटो देखि हुँदै गोदावरीरोड, बाँडेगाउँको सडक मार्फत पुग्न सकिन्छ । त्यसबाहेक ठैवदेखि वा चापागाउँ दोबाटो हुँदै बज्रबाराहीको दर्शन गर्दै पनि पुग्न सकिन्छ । त्यस्तै र सुमेरु अस्पताल नागदह हुँदै पनि सन्तानेश्वरमा दर्शन गर्न पुग्न सकिन्छ । मन्दिरमा साउन महिनाभरीका लागि विभिन्न धार्मिक कार्यक्रमहरु संचालन गरिएको छ । मन्दिरका संरक्षक डा.चिन्तामणि योगीले साउनको तेस्रो सोमबारका दिन विशेष प्रवचन दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार