नेकपाका दुवै पक्षलाई आयोगको पत्र

शनिबार, पुस १८, २०७७

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अलग–अलग प्रकृतिको पत्र लेखेको छ । दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ । आयोग बैठकले गरेको निर्णयका विषयमा दुवै पक्षलाई जानकारी गराइएको छ । 
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ । तर विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् । 
दाहाल र नेपाल पक्षका नेताहरूले पुस १० मा आयोग पुगेर नेकपाको आधिकारिकतामाथि दाबी गरेका थिए । आयोगले दाहाल–नेपाल पक्षलाई लेखेको पत्रमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) को व्यवस्थाबारे स्मरण गराइएको छ । उक्त दफामा दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने भनिएको छ । दाहालले आयोगमा र सार्वजनिक रूपमै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ३ सय १५ सदस्यको साथ आफूहरूसँग रहेको दाबी गरेका छन् । 
आयोगले ओली पक्षलाई विभिन्न विषयमा अद्यावधिक गर्न गरिएको पत्रका विषयमा थप स्पष्ट पार्न मात्र भनेको छ । ओली पक्षले दाहालको कार्यकारी अधिकार खोसेको, विधान संशोधन गरेको, प्रवक्ता नियुक्ति गरेको, केन्द्रीय कमिटी विस्तार गरेको लगायतबारे जानकारी आयोगलाई दिएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार