भारतबाट नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य

शुक्रबार, साउन १५, २०८३

जनकपुरधाम । जिल्ला सुरक्षा समिति सर्लाहीले भारतबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुलाई आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सीमा नाकामा निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो । निर्णयअनुसार अब भारतबाट सर्लाहीका सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा अन्य आधिकारिक परिचय खुल्ने कागजात प्रस्तुत गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउनेछन् । यसैबीच, बिहीबार साँझसम्म जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था सामान्य रहेको भए पनि शुक्रबार सदरमुकाम मलंगवामा बजार बन्द गराइएको छ। विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने सुरक्षा निकायले अवस्था निगरानीमा राखेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार प्रशासनले पछिल्ला दिनहरूमा विजय जुलुसलगायतका कार्यक्रमलाई लक्षित गर्दै विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग नियमित संवाद गरिरहेको छ। धार्मिक समुदायका प्रतिनिधिहरूले पनि जिल्लामा शान्ति र सद्भाव कायम राख्न आ–आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गरेको उनले बताए । उनका अनुसार जिल्लामा सद्भाव र्‍याली आयोजना गर्ने विषयमा समेत पहल भइरहेको छ। त्यसका लागि शुक्रबार अपराह्न ४ बजे सम्बन्धित पक्षहरूसँग थप छलफल गर्न बैठक बोलाइएको जानकारी उनले प्रशासनलाई दिए । प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ । साथै, जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता र निगरानीलाई निरन्तरता दिइएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार