पाकिस्तानको ब्रड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित दश आरोही सम्पर्कविहीन

शुक्रबार, साउन १५, २०८३

काठमाडौं । उत्तरी पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली  हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ । उक्त टोलीमा निर्मल पुर्जासहित पाँचजना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ ।  पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् । ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र पाकिस्तानी आरोही सोहेल साखीसहित १० जना आरोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्। बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा छन् ।  अन्य बेपत्ता आरोहीहरूमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस रहेका छन् । एसीपीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, एसीपीका वरिष्ठ उपाध्यक्ष करार हैदरीले पाकिस्तान सेनाको एभिएसन शाखाका दुई उद्धार हेलिकोप्टर, उद्धारकर्मी र विशेष उपकरणसहित उनीहरुको खोज तथा उद्धार अभियान जारी रहेको छ ।  ‘मौसम र सञ्चालन अवस्थाले साथ दिएलगत्तै हेलिकोप्टर सहयोग तथा उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार