सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग सहमति जुटाउने उद्देश्यले सरकार र डा. केसी पक्षबीच धनगढीमा औपचारिक वार्ता सुरु भएको छ । वार्ताअघि शिक्षा सचिव चूडामणि पौडेलले डा। केसीसँग प्रारम्भिक छलफल गरेका थिए । त्यसपछि सरकारी टोली र डा। केसीका प्रतिनिधिबीच औपचारिक संवाद अघि बढाइएको हो । सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव पौडेल वार्तामा सहभागी छन् । डा. केसीको पक्षबाट डा. अमृत जैसी र पवन थापा सहभागी रहेको जनाइएको छ । सरकारी टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग भेट गरेपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा वार्ता सुरु गरिएको डा. जैसीले जानकारी दिएका छन् । सरकारले संवादमार्फत डा. केसीका माग सम्बोधन गर्ने र सहमतिको बाटो खोज्ने प्रयास गरिरहेको जनाएको छ । यसअघि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विगतका सहमति कार्यान्वयन नभएको र आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका थिए ।