नेकपामा गुट भेला तीब्र, ईश्वर पोखरेलको सम्बोधन

नेपाल पक्षका नेताहरु अनुपस्थित
आइतबार, कात्तिक २३, २०७७

काठमाडौं । विभाजनको संघारमा पुगेको चर्चा गरिएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समूहहरुले गुटगत भेलालाई तीब्रता दिइरहेका छन् । यसको सुरुवात पूर्व एमालेतर्फबाट सुरु भइरहेको छ । पूर्व माओवादीले पनि समूह समूहमा चरणबद्ध छलफललाई तीब्रता दिइरहेका छन् । केही दिनअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेका प्रदेश नं १ का नेता तथा कार्यकर्तालाई जुम भेला गरी जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टी आधिकारित राजनीतिक लाइन बनाउन छलफल गरेका थिए । यो विषयलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ठि व्यक्त गरिसकेका छन् । नेकपा भित्रको आन्तरिक द्धन्द्धका विषयमा यति बेला सामाजिक सञ्जालमा पनि कार्यकर्ताहरुले पूर्व माओवादी खेमा र पूर्व एमाले खेमा स्पष्ट छुट्टिने गरी अभिव्यक्ति दिएको देखिन्छ ।
विवाद गहिरिएका बेला पार्टी मुख्यालय धुम्वाराहीमा पूर्व एमालेका नेता–तथा कार्यकर्ताको भेला भएको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला काठमाडौंका पूर्व एमालेहरुको भेला हुनुलाई पार्टी विभाजनको रणनीतिस्वरुप भएको विश्लेषण गर्नेहरु पनि छन् । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । ‘पार्टी भित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पु¥याउनु होइन’, जिल्ला अध्यक्ष राईले भने । उनका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।
‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो’, उनले भने । 
शनिबार दिउँसो भएको भेलामा पूर्वमाओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने ।
पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।
मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार