सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ । अब साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ। कान्सास सिटीमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ११२औँ मिनेटमा अल्भारेजले करिब २५ यार्ड टाढाबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लियो । त्यसपछि इन्ज्युरी समयमा मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । खेलको १०औँ मिनेटमै लियोनेल मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । तर दोस्रो हाफमा खेलमा फर्किएको स्विट्जरल्यान्डका लागि ६७औँ मिनेटमा डान न्डोयेले रिकार्डो रोड्रिगेजसँगको उत्कृष्ट तालमेलपछि गोल गर्दै बराबरी गरे । खेलको सबैभन्दा विवादास्पद क्षण ७२ औँ मिनेटमा आयो । स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल एम्बोलोलाई सुरुमा लियान्द्रो पारिडेसले फाउल गरेको ठानिएको थियो र पारिडेसले पहेंलो कार्ड पाए । तर भिएआरले पुनरावलोकन गर्दा एम्बोलोले फाउल भएको नाटक (डाइभिङ) गरेको देखिएपछि रेफ्रीले पारिडेसको कार्ड रद्द गर्दै एम्बोलोलाई दोस्रो पहेंलो कार्ड देखाए। दोस्रो पहेंलोका कारण एम्बोलो मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमायो र अल्भारेजको उत्कृष्ट गोलमार्फत अग्रता लियो । बराबरी गोलको खोजीमा अगाडि बढेको स्विट्जरल्यान्ड काउन्टर अट्याकमा समातिँदा मार्टिनेजले अन्तिम मिनेटमा गोल गर्दै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखे । यसअघि नर्वेलाई २-१ ले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्योसँगै विश्वको सेमिफाइनल समीकरण पूरा भएको छ। अर्को सेमिफाइनल फ्रान्स र स्पेनबीच हुनेछ ।