सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ 

शुक्रबार, असार २६, २०८३

सोलुखुम्बु ।  सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ । समयमै मनसुनी वर्षा हुनु, किसानले समयमा नै खेत तयारी गर्न पाउनु तथा कृषि प्राविधिकको नियमित परामर्श र स्थानीय तहसँगको समन्वयका कारण जिल्लामा धान रोपाइँले उत्साहजनक गति लिएको कृषि ज्ञान केन्द्र, सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्रको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार असार २२ गतेसम्म जिल्लाको धान खेतीयोग्य क्षेत्रफलमध्ये ३८.०४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने २६.९३ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो। यस आधारमा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा ११.११ प्रतिशत बिन्दुले बढेको देखिएको छ । जिल्लामा कुल खेतीयोग्य जमिन ४ हजार ५ सय ३५ हेक्टर रहेको छ । तीमध्ये धान खेतीका लागि उपयुक्त तथा लक्षित क्षेत्रफल १ हजार २ सय २५ हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।  यही लक्षित क्षेत्रफलका आधारमा हेर्दा हालसम्म ४ सय ६५ दशमलव ९७ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । गत आर्थिक वर्षको यही अवधिमा भने ३ सय ३० हेक्टर क्षेत्रमा मात्र धान रोपिएको थियो । यस वर्ष थप १ सय ३५ दशमलव ९७ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको तुलनात्मक विवरणले देखाएको छ । कृषि ज्ञान केन्द्र, सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारले यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले किसानले सहज रूपमा खेत जोत्न, हिलो बनाउन र रोपाइँ सम्पन्न गर्न सकेको बताए । उनका अनुसार मनसुन समयमै सक्रिय हुनु धान रोपाइँको गति बढ्नुको मुख्य कारण हो । ‘गत वर्ष कतिपय स्थानमा वर्षा ढिलो हुँदा रोपाइँ प्रभावित भएको थियो । यस वर्ष भने मौसमले साथ दिएको छ । किसानले समयमै बिउ उमार्न, बेर्ना तयार गर्न र खेतमा रोप्न सकेका कारण प्रगति सन्तोषजनक देखिएको हो,’ उनले भने । उनले कृषि ज्ञान केन्द्रले स्थानीय तहका कृषि शाखासँग नियमित समन्वय गर्दै किसानलाई आवश्यक प्राविधिक सुझाव, रोग तथा कीरा व्यवस्थापनसम्बन्धी परामर्श र खेती व्यवस्थापनका विषयमा जानकारी उपलब्ध गराउँदै आएको जानकारी दिए । यसले पनि किसानलाई समयमै निर्णय लिन र रोपाइँ कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुगेको उनको भनाइ छ । सोलुखुम्बु पहाडी तथा हिमाली भूगोल भएको जिल्ला भएकाले यहाँको कृषि उत्पादन मौसममा धेरै निर्भर रहने गर्दछ । विशेषगरी धान खेती वर्षा र सिँचाइको उपलब्धतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । पर्याप्त वर्षा नभएमा खेतमा पानीको अभाव हुने र रोपाइँ ढिलो हुने समस्या दोहोरिने गरेको छ । तर यस वर्ष मनसुन अनुकूल रहेकाले अधिकांश धान उत्पादन हुने क्षेत्रमा किसानले सहज रूपमा रोपाइँ गर्न सकेका छन् । जिल्लाका सोलुदुधकुण्ड, नेचासल्यान, महाकुलुङ, लिखुपिके तथा थुलुङ दुधकोशी गाउँपालिकाका धान उत्पादन हुने क्षेत्रमा अहिले रोपाइँको चटारो देखिएको छ । कतिपय स्थानमा रोपाइँ सम्पन्न भइसकेको छ भने केही क्षेत्रमा अन्तिम चरणको रोपाइँ जारी रहेको कृषि प्राविधिकहरूले बताएका छन् ।  गाउँघरमा परम्परागत रूपमा सामूहिक श्रमदान, अर्मपर्म र मेलापातको अभ्यास कायम रहेकाले पनि रोपाइँ कार्य छिटो सम्पन्न हुन सहयोग पुगेको स्थानीय किसानहरूको अनुभव छ । कृषि विज्ञहरूका अनुसार धान उत्पादनमा रोपाइँको समय अत्यन्त महत्त्वपूर्ण मानिन्छ । समयमै रोपिएको धानले राम्रोसँग वृद्धि हुने, रोग तथा कीराको प्रकोप कम हुने र उत्पादनसमेत बढ्ने सम्भावना रहन्छ । त्यसैले यस वर्षको रोपाइँको प्रगति आगामी धान उत्पादनका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । कृषि ज्ञान केन्द्रले आगामी केही सातासम्म पनि मौसम अनुकूल रहने अपेक्षा गर्दै बाँकी क्षेत्रफलमा समेत समयमै रोपाइँ सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ । साथै रोपाइँपछि गोडमेल, मल व्यवस्थापन, झार नियन्त्रण तथा रोग–कीराको नियमित निगरानीमा विशेष ध्यान दिन पनि सुझाव दिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो। ग्रामीण क्षेत्रमा अधिकांश परिवारको खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्ध रहेको यस बालीको उत्पादन वृद्धि हुँदा स्थानीय स्तरमा खाद्यान्न उपलब्धता बढ्नुका साथै कृषकको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिन्छ । सोलुखुम्बुजस्तो भौगोलिक रूपमा विकट जिल्लामा धान उत्पादन वृद्धि हुनु स्थानीय खाद्य आत्मनिर्भरताका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार असारको तेस्रो सातासम्म जिल्लामा करिब ३८ प्रतिशत धान रोपाइँ सम्पन्न हुनु यस वर्षको कृषि उत्पादनका लागि उत्साहजनक उपलब्धि हो। मौसमले निरन्तर साथ दिएमा बाँकी क्षेत्रमा पनि निर्धारित समयभित्र रोपाइँ सम्पन्न हुने र आगामी शरद् ऋतुमा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।  यसले जिल्लाको खाद्य सुरक्षामा टेवा पुग्नुका साथै कृषकको उत्पादन र आम्दानी बढाउन समेत सकारात्मक योगदान पुग्ने विश्वास कृषि क्षेत्रका सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार