सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनले आफ्नो सहयोगमा नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयनमा सहमति जनाएको छ । सोमबार बेइजिङ भ्रमणमा रहेका नेपालका पराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ समकक्षी विदेश मन्त्री वाङ यीले यस्तो प्रतिबद्धता जनाएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा चिनियाँ पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो । यस्तै, पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।यस्तै चीनले नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । नेपाली टोलीले एक चीन नीति प्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएको थियो ।
परराष्ट्र मन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता परराष्ट्र मन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङबीच भेटवार्ता भएको छ । बेइजिङमा सोमबार भएको भेटमा नेपाल(चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट्र मन्त्री खनालले जानकारी दिएका छन् । बेइजिङमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । छलफलमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पार्टी(पार्टीबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका नागरिकबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।