रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका

शनिबार, जेठ २, २०८३

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने । कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले वाग्मती प्रदेश सरकारले हरेक नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँचको लागि काम गरिरहेको बताए । भौगोलिक हिसाबले विकट र प्रदेशको राजधानीबाट सबैभन्दा टाढा रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाको विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सो गाउँपालिकामा अलपत्र परेका योजनालाई अघि बढाउन प्रदेशका अन्य मन्त्रालयमा समेत आफूले कुरा गर्ने उनले बताए । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लगायतका साझा प्रयासले गाउँपालिका पूर्णखोपयुक्त भएको बताए । उनले अब उमाकुण्डमा खोप लगाउनु पर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटेका उनले जानकारी दिए । यसलाई निरन्तर कायम राख्न निरन्तर रूपमा लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका लगायतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार