लागुऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको विशेष अभियान शुभारम्भ

शनिबार, वैशाख २६, २०८३

सर्लाही । सर्लाही प्रहरीले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा युवापुस्तालाई कुलतबाट जोगाउने उद्देश्यले विशेष अभियान सुरु गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा सञ्चालन गरिएको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३’ अन्तर्गत दोस्रो चरणको अभियान शुक्रबारदेखि सर्लाहीमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राईले अभियानको मुख्य उद्देश्य लागुऔषध सेवनकर्ताको पहिचान गरी सुधारतर्फ उन्मुख गराउनु रहेको बताए । उनले लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि समुदाय, स्थानीय तह, अभिभावक र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अभियानलाई जिल्लाभर निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेले लागुऔषधको समस्या सामाजिक चुनौतीका रूपमा बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले अभियानले युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यसैगरी, उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय सर्लाहीका सशस्त्र प्रहरी कर्मचारीहरूले लागुऔषध विरुद्ध जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए । नाटकमार्फत लागुऔषधको दुष्परिणाम तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे सन्देश प्रवाह गरिएको थियो । प्रहरी चौकी गोरखकालीमा आयोजित उद्घाटन कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राई, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार