बराहतालका अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य परिक्षण र परिचयपत्र

शनिबार, वैशाख २६, २०८३

सुर्खेत । बराहताल गाउँपालिकाले नागरिकहरुको घरदैलोमै सेवा पुर्याउन शिविर सञ्चालन गरेको छ । बैशाख २२ गतेदेखि सञ्चालन भएको शिविर २५ गते सकिएको हो । शिविरमा पालिकाका विभिन्न वडामा गएर अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच र परिचय पत्र वितरण गरिएको बताईएको छ । स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका, वडा कार्यालय र पालिकामा जान नसक्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि पायक पर्ने स्थानहरुमा शिविर सञ्चालन गरिएको बराहताल अपाङ्गता समन्वय समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले बताईन् । ‘कतिपय बस्तीहरु पालिकादेखि धेरै टाढा रहेका छन’ उनले भनिन्, ‘पालिकासम्म पुग्दा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका सास्तीलाई मध्यनजर गर्दै घरदैलोमै सेवा पुर्याइएको हो ।’ नागरिकले घर आँगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष पुनले बताईन् । अपाङ्गता भएका नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको उनको भनाई छ । ‘नागरिकले सहज रुपमा सेवा लिन पाउनु पर्छ भन्नेमा स्थानीय सरकार प्रतिबद्ध छ’ उनले भनिन्, ‘त्यसैले हामी तपाईंहरुको घर बस्तीमै आएका हौं ।’ उनले नागरिकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध भएको बताईन् । घरदैलो कार्यक्रममा बराहताल–४ की ६५ बर्षिया हरिकला पाण्डेले गाउँमै अपाङ्गता परिचय पत्र नकिरण गर्न पाउँदा खुशी लागेको बताईन् । ‘पालिकामा जान समस्या हुन्थ्यो । पैसा पनि खर्च हुन्थ्यो’ उनले भनिन्, ‘घर नजिकै परिचय पत्र नविकरण र स्वास्थ्य जाँच गराउनु पाउँदा खुशी लाग्यो।’ बुढेसकालमा असक्त मानिसहरुलाई पालिकामा पुगेर परिचय पत्र लिन तथा टाढाको स्वास्थ्य चौकीमा गएर उपचार गर्न निकै कठिनाई भएको बेला गाउँमै आएर उपचार र सेवा लिन थालेपछि सरकार घरआँगनमै आएको महशुस उनले बताईन् । गाउँपालिको यो अभियानबाट पालिकाभित्रका ३४० जनाको स्वास्थ्य परिक्षण गरिएको, २४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरिएको बराहताल स्वास्थ्य शाखाका सिनियर अहेव नारायण भट्टराईले जानकारी दिए । अभियानमा अपाङ्ता भएका व्यक्तिको स्वास्थ्य परिक्षण र अपाङ्ता परिचय पत्र वितरण गरिएको र डा.रहिस कोजुसहित पालिकाको स्वास्थ्य शाखाको टिमले स्वास्थ्य परिक्षण गरेको उनले बताए । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत राजिमान बुढा, कार्यपालिका सदस्य डिला सारु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार