नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

बिहीबार, वैशाख २४, २०८३

काठमाडौं । नेपालमा पहिलो पटक टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पु¥याउने घोषणा गरेको हो । नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता तथा डाटा सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं र वीरगन्जमा निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ । यो नेपालकै पहिलो टियर आइभी प्रमाणित डाटा सेन्टर हुने दाबी गरिएको छ । यस्तो स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने भएकाले वर्षभरिमा अत्यन्त न्यून प्राविधिक अवरोध मात्र हुने कम्पनीले जनाएको छ । कम्पनीले नेपालभित्रै डाटा सुरक्षित राख्ने ‘इन–कन्ट्री डाटा रेसिडेन्सी’ अवधारणालाई प्राथमिकता दिएको छ । यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा तथा डिजिटल आत्मनिर्भरतालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । ऊर्जा दक्ष र नेपालकै जलविद्युतमा आधारित रहने यो डाटा सेन्टरलाई वातावरणमैत्री पूर्वाधारका रूपमा विकास गरिने कम्पनीले जनाएको छ । साथै, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । ‘बिचुटेन’ नाम जापानी बौद्ध परम्परामा भगवान विष्णुको नामबाट प्रेरित रहेको बताइएको छ, जसले ‘रक्षक’ को अर्थ जनाउँछ । कम्पनीले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार