सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

मंगलबार, वैशाख २२, २०८३

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–३ मा पर्ने ठाडोकोशीस्थित ‘नाछिपाङ पुल’ अहिले जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ जाने मुख्य पैदल मार्गमै रहेको यो पुलबाट दिनहुँ सयौँ पर्यटक, स्थानीय बासिन्दा, भरिया र खच्चड आवतजावत गर्न बाध्य छन् । खुम्बु क्षेत्रमा सामान ढुवानीको विकल्प अत्यन्त सीमित छ—खच्चड, भरिया वा हेलिकप्टर। त्यसैले यही पुल सबैका लागि अनिवार्य मार्ग बनेको छ । त्यहीबाटो हुँदै विद्यार्थीहरु, शिक्षकहरु विद्यालयय आवतजावत गर्छन् । तर विडम्बना, करिब २६/२७ वर्षअघि  निर्माण गरिएको यो पुल अहिले जीर्ण बन्दै जाँदा जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम बढेको छ । अझ रोचक तर चिन्ताजनक पक्ष के छ भने, पुलमुनि बग्ने खोला होइन, सुख्खा पहिरो छ । यसले संरचनात्मक जोखिम झनै बढाएको छ । स्थानीय लाक्पा शेर्पाका अनुसार आफू १०÷११ वर्षकी हुँदा बनेको पुल अहिले उनी ३७ वर्ष पुग्दासम्म उल्लेखनीय मर्मतसम्भार बिना नै प्रयोग हुँदै आएको छ । पालिका र केही संस्थाले मर्मत गरिहाले पनि बाहिरी रुपमा तारजाली बाँध्ने मात्र काम भएको उनको गुनासो छ । पुलको अवस्था मात्र होइन, सरसफाइ पनि अर्को ठूलो समस्या बनेको छ । यही बाटो हुँदै ओहोरदोहोर गर्ने खच्चडका कारण पुल र बाटो दुर्गन्धित बनेका छन्, जसले विशेषगरी विदेशी पर्यटकलाई थप असहज बनाएको छ । स्थानीय होटल व्यवसायी पासाङ शेर्पा भन्छन्, ‘यो समस्या समाधान गर्न स्थानीय तह मात्र पर्याप्त छैन, राज्यले नै अग्रसरता लिनुपर्छ । हामी श्रमदान गर्न तयार छौँ ।’ यस्तो संवेदनशील र अन्तर्राष्ट्रिय महत्व बोकेको मार्गमै आधारभूत पूर्वाधारको यस्तो दयनीय अवस्था हुनु गम्भीर लापरवाहीको संकेत हो । विगत दुई वर्षदेखि भारी बोक्दै जिवीकोपार्जन गरिरहेका सोताङका सन्जिव विकका अनुसार भारीसँगै लामो समय त्यही पुल तर्न कुरेर बस्नुपर्छ, कहिलेकाहीँ ५०÷६० वटा खच्चड एकैपटमा त्यसपुलबाट आवतजावत गराइन्छ , त्यो अवस्थामा भरिया, पर्यटक सबै पर्खाइमा बस्नुपर्छ, यसले यात्रा अझ कठिनाई बनाएको उनको भोगाई छ । सगरमाथा नेपालको प्रमुख पर्यटन आयस्रोतको केन्द्र हो, तर त्यहाँ पुग्ने बाटो नै असुरक्षित हुनु विडम्बना हो । तत्काल सुरक्षित, बलियो नयाँ पुल निर्माण र वैकल्पिक मार्गको व्यवस्था गर्नु अहिलेको अपरिहार्य देखिन्छ । स्थानीय होटल व्यवसायी पासाङ शेर्पा भन्छन्, ‘यो समस्या समाधान गर्न स्थानीय तह मात्र पर्याप्त छैन, राज्यले नै अग्रसरता लिनुपर्छ। हामी श्रमदान गर्न तयार छौँ ।’ सगरमाथा नेपालको प्रमुख पर्यटन आयस्रोतको केन्द्र हो, तर त्यहाँ पुग्ने बाटो नै असुरक्षित हुनु विडम्बना हो । तत्काल सुरक्षित, बलियो नयाँ पुल निर्माण र वैकल्पिक मार्गको व्यवस्था गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । प्रश्न अझै उस्तै छ—विश्वलाई आकर्षित गर्ने गन्तव्यको बाटो नै किन यति जोखिमपूर्ण ? सगरमाथाको रोयल्टी कता जान्छ ?

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार