कर शिक्षा कार्यक्रमलाई वडास्तरमा व्यापक बनाउँदै ललितपुर महानगर 

आइतबार, वैशाख १३, २०८३

ललितपुर । ललितपुर महानगरपालिकाले राजश्व संकलनलाई परिणाममुखी बनाउन वडास्तरमा कर शिक्षा कार्यक्रमलाई तीब्रता दिएको छ । ललितपुर महानगर स्थानीय राजश्व परामर्श समितिको आयोजनामा वडास्तरमा कर शिक्षा कार्याक्रम भइरहेका छन् । स्थानीय राजश्व परामर्श समितिले महानगरकै राजश्व महाशाखाको व्यवस्थापनमा हालसम्म लपुमनपा–२३ नं वडा, ११ नं. वडा तथा १८ नं. वडामा कर शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।  वडा तहमा आयोजित कर शिक्षा कार्यक्रममा स्थानीय राजश्व परामर्श समितिका संयोजक तथा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, समितिका सदस्य एवम् वडा नं २४ का वडाअध्यक्ष दिनेश जंग पाण्डे, समिति सदस्य एवम् कार्यपालिका सदस्य बबिता श्रेष्ठ, समितिका सदस्य एवम् ललितपुर उद्योग वाणिज्य संघका पूर्णबहादुर महर्जन, ललितपुर चेम्बर अफ कमर्शका प्रतिनिधि पुष्परत्न शाक्य, समितिका सदस्यसचिव एवम् महाशाखाका निर्देशक सहजित राईसहित राजश्व महाशाखाका कर्मचारी, कार्यक्रम सम्पन्न भएका वडाका वडासचिव, वडामा राजश्व हेर्ने कर्मचारी, वडातहमा क्रियाशील महिला समूहका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, ठूला–साना करदाता, वुद्धिजीवी तथा समाज सेवीहरूको सहभागिता रहेको थियो ।   यसैबीच, महानगरको १८ नं. वडामा आयोजित कर शिक्षा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुँदै समितिका संयोजक एवम् महानगर उप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरे उठाउने करका विषयमा चर्चा गर्दै ललितपुर महानगरपालिका करको दरमा बृद्धि भन्दा पनि दायरा बृद्धिको पक्षमा रहेको जानकारी दिइन । ‘मृत्यु र कर’ यी दुवै कुराले कसैलाई पनि छाड्दैन भन्ने भनाइ स्मरण गर्दै महानगर उपप्रमुख शाक्यले करदातालाई समयमै कर तिरेर असल नागरिकको परिचय दिन आह्वान गरिन । वडा तहमा आयोजित कर शिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार महानगरपालिकाले ५० करोड २९ लाख २३ हजार ४०३ बक्यौता रकम उठाउन बाँकी छ । यो बक्यौता आर्थिक वर्ष ०८१/०८२ सम्मको हो । महानगरपालिकालाई २१ (व्यक्ति/संस्थागत) करदाताले १० लाख भन्दा बढी बक्यौता रकम बुझाउन बाँकी छ ।        महानगरपालिकाले चालु आर्थिक वर्षमा ३ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक श्रोतबाट आय (राजश्व)  उठाउने लक्ष्य लिएको छ । महानगरपालिकाले लिएको लक्ष्य हालिस गर्न राजश्व महाशाखाले करदाता पत्रचारसहित नियमित रुपमा टेलिफोन सम्पर्क, एसएमएस तथा विभिन्न सञ्चार माध्यमहरूमा सूचना प्रकाशित गर्दै राजश्व दाखिल गर्न सूचित गर्ने गरेको छ । कर शिक्षा कार्यक्रममा करका सिद्धान्त, स्थानीय सरकार र करदाताबीचको सम्बन्ध, स्थानीय सरकारलाई बुझाउनु पर्ने विज्ञापन कर, मनोरञ्जन कर, घर बहाल कर, सम्पत्ति कर, व्यवसाय करका विषयमा पनि विस्तृत प्रस्तुति र छलफल गर्ने गरिन्छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार