पैदल यात्रुको सुरक्षाका लागि ताल्छिखेलमा क्रसिङ लाइट जडान (भिडियो)

शनिबार, वैशाख १२, २०८३

ललितपुर । ललितपुर महानगरपालिका शहरी योजना व्यवस्थापन समिति तथा महानगर वडा नं. १४ र १५ को संयुक्त लगानीमा ताल्छिखेलमा On Demand Pelican crossing system जडान गरिएको छ ।  वडा नं. १४ र १५ ले हिजो शुक्रबार बिहान संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उक्त सडक खण्ड पार गर्दा गाडीको ठक्करबाट घाइते भएका पैदल यात्री स्थानीयबासी लक्ष्मण थापाबाट उक्त प्रविधिको उद्घाटन गरिएको हो ।  क्रसिङ लाइट उद्घाटन कार्यक्रममा वडा नं. १४ का अध्यक्ष अमृत जंग महतको सभापतित्वमा आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता वडा नं. १४ का वडाअध्यक्ष अमृत जंग महतले गरेका थिए भने वडा नं. १५ का वडाअध्यक्ष सुरेश शाही विशेष अतिथिका रुपमा सहभागी भएका थिए । उद्घाटनका क्रममा कार्यक्रमको अध्यक्षता वडा नं. १४ का वडाअध्यक्ष महत र वडा नं. १५ का वडाअध्यक्ष शाहीले सहजीकरण गरेका थिए ।  कार्यक्रमको अध्यक्षता गरेका लपुमनपा १४ नं. वडाका वडाअध्यक्ष महतले स्थानीयवासीको लामो प्रयासमा दुवै वडाका जनप्रतिनिधिहरूले साथ–सहयोग गरेपछि यो योजना कार्यान्वयन आएको बताए । उनले महानगरपालिकाले योजना छनोट गर्दा प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै आगामी वर्षको वजेटमा योजना छनोट गर्दा यो विषयलाई ध्यान दिन स्थानीयसहित वडाले पनि दबाब दिने बताए ।  उनले  ताल्छिखेलमा महानगरकै बजेटबाट आकाशे पुल बन्नुपर्नेमा जोड दिए । ‘महानगरकै १३ नं वडा कुशुन्तिमा अपाङग मैत्री आकाशे पुल बन्छ भने १४ नं वडाको ताल्छिखेलमा किन नबन्ने’ वडाअध्यक्ष महतले महानगरका नेतृत्वकर्तालाई प्रश्नगर्दै भने, ‘ स्मार्ट लाइटको जडानमा पनि विभेद भएको छ । भैसेपाटीमाथि चुनिखेलमा स्मार्ट बत्ती राखिएको छ । त्यो बत्ती खोकनाका मान्छेले देख्छन । तर यहाँ सडक बत्ती जडान भएको छैन । आवश्यकता कहाँको लागि छ त्यो विचार गरिनुपर्छ ।’ कार्यक्रममा १५ नं. वडाका वडाअध्यक्ष शाहीले यस स्थानमा आकाशे पुल आवश्यक रहेको भन्दै आगामी बजेटमा आफ्नो वडाले ५० लाख रुपैयाँया विनियोजन गर्ने बताए ।  उनले रिङगरोटमा दुर्घटनाका क्रम बढ्दो रहेको औंल्याउँदै सडकमा सिसि क्यामेरा जडान गर्न आफ्नो वडाले सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।  क्रसिङ सिस्टम उद्घाटनका अवसरमा दुवै वडाका जनप्रतिनिधि, कर्मचारी, ट्राफिक प्रहरी, प्रहरी वृत्त सातदोबाटाका डिएसपी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । क्रसिङ सिस्टम शहरी योजना व्यवस्थापन समितिको ७ लाख रुपैयाँ तथा वडा नं. १४ र १५ बाट डेढ–डेढ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार