बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

शनिबार, चैत २८, २०८२

काठमाडौँ । साझा यातायातले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ । सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको पाइएको छ । सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ । दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म बस सञ्चालन हुनेछ । त्यस्तै, बुढानीलकण्ठबाट फर्किने बस महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल पुग्नेछ । पूर्व–पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म बस सञ्चालन हुनेछ । फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ । नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन् । रात्रिकालीन सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले आवश्यक समन्वय गरेको हो । बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायत सरोकारवालाको सहभागिता रहेको थियो । यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने काठमाडौं महानगरपालिकाले प्रत्येक बसमा एकजना नगर प्रहरी खटाउने जनाएको छ । कार्यवाहक प्रमुख डंगोलका अनुसार प्रारम्भिक ३ महिना सेवा सञ्चालनपछि यसको प्रभाव मूल्याङ्कन गरी थप सुधार र विस्तार गरिनेछ । रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार