सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई वातावरण, संस्कृति र तथा पर्यटनको क्षेत्रमा गरेको कामको कदर गर्दै सम्मान गरेको छ । संघको ३३औँ वार्षिकोत्सव अवसरमा गोदावरी नगरपालिकासहित अन्य पालिकाहरुलाई विभिन्न विधामा उत्कृष्ट घोषित गर्दै संघले सम्मान गरेको हो । सभामुख डोलप्रसाद अर्यालले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सम्मान पत्र प्रदान गरे । देशभरका विभिन्न नगरपालिकाहरूबीच प्रतिस्पर्धा गराएर त्यसको मूल्याङ्कनको आधारमा गोदावरी नगरपालिकाले वातावरण, संस्कृति तथा पर्यटन विधामा ८५ प्रतिशत अंक प्राप्त गरेको थियो । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले स्थानीय तहलाई बलियो र सक्षम बनाउने गरी आवश्यक कानुन निर्माण गर्न सङ्घीय सरकार तयार रहेको बताए । स्थानीय तहले नागरिकलाई पूर्ण न्याय हुने गरी सेवा दिनुपर्ने बताउँदै तब मात्रै नागरिकले सरकार भएको महसुस गर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले नागरिकको मुहारमा हाँसो देखिने गरी काम गर्नुपर्ने बताए । संघ र प्रदेशभन्दा स्थानीय तह नागरिकको नजिकको सरकार भएको भन्दै उनले स्थानीय तहका नागरिकले मेरो सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
विगतमा सुशासन, सेवा प्रवाह प्रभावकारी नभई भ्रष्टाचार मौलाउँदै गएकोप्रति गुनासो गर्दै अर्यालले त्यसैको फलस्वरूप गत भदौ २३ र २४ गते जेनजी पुस्ताले सडक आन्दोलन गर्न बाध्य हुनु परेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले संघीय नजामती सेवा ऐन जारी नहुँदा कर्मचारी समस्यामा परेको गुनासो गर्दै अब सरकारले ऐन जारी गर्दा स्थानीय तहका कर्मचारीको माग पनि सम्बोधन गर्नुपर्ने बताए । नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरीले संविधान अनुसार सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहले सहकार्य, सहअस्तित्व र समन्वय गर्नुपर्ने भए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको गुनासो गरे । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले नयाँ बनेको सरकारले संघीयतालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । सरकारले गठन गरेको संविधान संशोधनमा स्थानीय तहका सङ्घ र महासङ्घको पनि प्रतिनिधित्व गराउन उनले सरकारलाई आग्रह गरे गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वातावरण, संस्कृति तथा पर्यटन क्षेत्रमा पालिकाको निरन्तर प्रयास र प्रतिबद्धताको कदर स्वरुप यो सम्मान प्राप्त भएको बताए । उनले भने, ‘यो उपलब्धि सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त मेहनत, समर्पण र सहकार्यको प्रतिफल हो । ’ यो सम्मानले प्रभावकारी सेवा प्रवाह, दिगो विकास तथा समृद्ध गोदावरी निर्माणमा उत्साह थपिएको बताए । उनले सम्मान प्राप्त भएकोमा सम्पूर्ण नगरवासीलाई बधाई दिए । साविक बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, देवीचौर गाउँ विकास समिति एवम् कार्यविनायक नगरपालिकाको डुकुछाप र छम्पी जोडेर गोदावरी नगरपालिका स्थापना भएको हो । स्थानीय तहको निर्वाचन (वि.सं.२०७४) हुनुअघि, नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७३ साल फागुन २७ गतेको निर्णयअनुसार गोदावरी नगरपालिका घोषणा गरिएको हो । गोदावरी नगरपालिकमा १४ वडाहरु छन् । यो पालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय नगर हो । कार्यक्रममा सार्वजकि वित्त व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका वैदेशिक रोजगारीबाट नेपालमा फर्केर युवालाई श्रम आप्रवासन व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रका क्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्वसचिव पूर्णचन्द्र भट्टराई, डा. गोपीकृष्ण खनाल, केवलप्रसाद भण्डारीलगायतले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिने बताए ।
सात नगरपालिका पुरस्कृत
संस्थागत सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९० प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । त्यस्तै स्थानीय आर्थिक विकासमा रामेछापको मन्थली नगरपालिकाले ८५ अङ्क, सामाजिक विकास क्षेत्रमा महोत्तरीको मटिहानी नगरपालिकाले ८५ प्रतिशत अङ्क, सहरी योजना तथा पूर्वाधार विकासमा कास्कीको पोखरा महानगरपालिका र काठमाडौँको बुढानीलकण्ठ नगरपालिका दुवैले ९५ प्रतिशत अङ्क प्राप्त गरी उत्कृट स्थान हासिल गरेका छन् । त्यस्तै वातावरण संस्कृति तथा पर्यटन क्षेत्रमा इलामको इलाम नगरपालिका र ललितपुरको गोदावरी नगरपालिकाले ८५ प्रतिशत अङ्क हासिल गरी उत्कृष्टता हासिल गरेको नेपाल नगरपालिका सङ्घले जनाएको छ । गोदावरी नगरपालिकालाई यसअघि पनि सहरी योजना र पूर्वाधार विकास क्षेत्रमा उत्कृष्टता हासिल गरी नेपाल नगरपालिका सङ्घले सम्मान गरेको थियो ।