कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण

सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पूर्जी

बिहीबार, चैत २६, २०८२

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पूर्जी जारी गरिएको छ ।नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो । प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए । उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन् । उनका अनुसार, पक्राउ पूर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार