कर्मचारी नेतृत्वलाई प्रधानमन्त्री शाहले भने,  ‘मन्त्रीहरूलाई नपढाउनुस्, सरकारको स्प्रिटमा काम गर्नुस्’

शुक्रबार, चैत १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदस्थापन लगत्तै कर्मचारी नेतृत्वलाई नागरिक केन्द्रित सेवा, सुशासन र कार्यक्षमतामा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री तथा मुख्यसचिव(सचिवहरूसँगको छोटो भेटमा प्रधानमन्त्री शाहले प्रशासनिक संयन्त्रले सरकारको नीति र स्प्रिटअनुसार काम गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री शाहले मन्त्रीहरूको भूमिका र कर्मचारी संयन्त्रबीचको कार्य सम्बन्ध स्पष्ट पार्दै “मन्त्रीहरूलाई नपढाउनुस्, उनीहरू पढेर आएका छन्, काम के गर्ने हो त्यसमा सहजीकरण गर्नुहोस्” भनेका छन् । उनले निर्णय कार्यान्वयनमा केन्द्रित हुन कर्मचारी नेतृत्वलाई निर्देशन दिएका छन् ।
नागरिक सेवा र सुशासनलाई केन्द्रमा राख्दै उनले “नागरिकलाई दिने सेवा प्रवाहमा सुधार ल्याउनु पर्‍यो, सुशासन ल्याउनु पर्‍यो” भन्दै प्रशासनको प्राथमिकता स्पष्ट गरे । साथै “नागरिक सुप्रिमेसी अर्थात् सिभिल सुप्रिमेसी हुनुपर्‍यो” भन्दै सम्पूर्ण संयन्त्र नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री शाहले कामप्रति प्रतिबद्धता नदेखाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै “काम गर्न मन नभएकाले जागिर छोड्नु पर्‍यो, काम गर्न मन नभएकोलाई किन पद ओगटेर बस्नु ?” भन्दै कडा सन्देश दिएका छन् । लोक सेवा आयोगमार्फत आएका कर्मचारी सक्षम र योग्य रहेको उल्लेख गर्दै उनले कार्यक्षमताभन्दा सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए । “सबै लोक सेवा नै पास गरेर आउनु भएको हो, सबैले सकिहाल्नु हुन्छ, तर जनताको काम पनि गर्नुपर्‍यो,” उनले भनेका छन् । कार्यसम्पादनमा कमजोरी देखिए पदमा बसिरहनु उपयुक्त नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले “यो काम गर्न सक्दैन जस्तो लाग्छ भने राजीनामा दिनुस्, अरूले काम गर्नुहुन्छ” भन्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीको छोटो, स्पष्ट र कडा निर्देशनले नयाँ सरकार प्रशासनिक सक्रियता, जन उत्तरदायित्व र नागरिकमुखी सेवा प्रवाहमा केन्द्रित हुने संकेत गरेको भन्दै कामकाजी कर्मचारीहरूमा उत्साह ल्याएको छ भने कामचोर प्रवृत्तिका कर्मचारीहरूमा उथलपुथल ल्याएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार