सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरपालिका र त्रिभुवन विश्वविद्यालयको कानुन संकायबीच कानुन तर्जुमा, संशोधन र कार्यान्वयनका विषयमा सहकार्य गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यस सहकार्यअन्तर्गत महानगरले कार्यान्वयन गरिरहेका कानुनहरूको मूल्यांकन, परिमार्जन र सुधारका लागि अध्ययन तथा सुझावका लागि कानुन संकायसँग सहकार्य गर्नेछ। कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थानीय सरकारको कामकाज थप व्यवस्थित र कानुनसम्मत बनाउन एमओयू महत्वपूर्ण रहेको बताइन्। उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको दायराभित्र कानुनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानुनमा रहेका त्रुटि सच्याउन यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनका अनुसार, काठमाडौं महानगरले अहिलेसम्म १६० वटा कानून निर्माण गरी कार्यान्वयन गरिरहेको छ। डंगोलले भनिन्, “हामीले निर्माण गरेका कानुनहरू परिमार्जन गर्नुका साथै नयाँ कानून निर्माणका लागि यस एमओयूले आवश्यक क्षेत्र पहिचान गर्नेछ। विद्यमान कानुनहरूको विश्लेषण गर्दै त्रुटि सुधार र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिएका छौँ।” समझदारी अनुसार त्रिभुवन विश्वविद्यालयको कानुन संकायले महानगरपालिकाका विद्यमान ऐन, नियम तथा कार्यविधिहरूको कानुनी परीक्षण गर्नेछ र आवश्यक परे नयाँ कानुन निर्माणका लागि प्राविधिक काममा सहयोग पुर्याउनेछ ।