अदालतबाट न्याय हुनेमा आशावादी छु : पूर्वराष्ट्रपति डा.यादव

बिहीबार, पुस १६, २०७७

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सबैको विश्वास अदालतमाथि टिकेको बताउँदै अदालतबाट न्याय होला भनेर म पनि आशावादी रहेको बताएका छन् । पूर्व राष्ट्रपति डा. यादवले प्रधानमन्त्रीले विघटन गरेको संसद् विघटन विरुद्धको रिटलाई संवैधानिक इजलास गठन गरी सुनुवाई गरिरहेको सर्वाेच्च अदालतप्रति इंगित गर्दै भने, ‘म पनि अदालतबाट न्याय हुनेमा पूर्ण आशावादी छु ।’‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ’, विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको  सम्मान कार्यक्रममा डा यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।’ सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो । ‘अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ’ उनले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि  महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो ।  सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र  कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार