सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी धापाखेल उपशाखाको प्राविधिक सहयोगमा चार दिने प्राथमिक उपचार आधारभूत तालिम दिएको छ । फागुन ६ गतेदेखि ९ गते (चार दिन) सम्म चलेको उक्त तालिममा वडाका २४ जना सहभागी भएका थिए । तालिमका सहभागीले दुर्घटना, विपद्लगायतबाट घाइतेलाई अस्पताल पुर्याउनु अघि गरिने प्राथमिक उपचार पद्धतिको डेमो प्रस्तुत गरेका थिए । प्रशिक्षार्थीले तालिम अवधिमा सिकेको ज्ञानलाई व्यवहारिक रुपमा कति सिके भन्ने परीक्षणका लागि उक्त डेमो गरिएको हो । तालिमका प्रशिक्षार्थीहरूलाई लिखित तथा डेमोमा देखाएको मिहिनेतका आधारमा परीक्षण गरिएको थियो । परीक्षणमा सुजना थापा उत्कृष्ठ भएकी छन् । तालिम समापनका अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले उत्कृष्ठ प्रशिक्षार्थी थापालाई मायाको चिनो उपहार पनि दिए । साथै उनले तालिमका सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरे । तालिमका प्रशिक्षार्थीहरूलाई फस्ट ऐड ब्याग पनि हस्तान्तरण गरिएको छ । प्रमाणपत्र वितरण तथा फस्ट ऐड ब्याग हस्तान्तरणमा वडासदस्य इन्द्रा श्रीश, उद्धब बस्नेत, हरिकृष्ण महर्जन तथा वडा सल्लाहकार एवम् धापाखेल रेडक्रस उपसमितिका सभापति पुरुषोत्तम पौडेलले सहयोग गरेका थिए । तालिम समापनका अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरूले उक्त तालिम आफूहरूका लागि फलदायी भएको बताए । तालिमका मुख्य प्रशिक्षकले यो तालिमपछि पाएको प्रमाणपत्रको अवधि ३ वर्षसम्म मान्य हुने जानकारी दिँदै विदेशमा पनि यो तालिमलाई मान्यता दिइने उल्लेख गरे । सभापतिको आसनबाट धापाखेल रेडक्रस उपसमितिका सभापति पुरुषोत्तम पौडेलले प्रशिक्षार्थीहरूलाई आगामी दिनका लागि शुभकामना दिँदै मुखमै आएको निर्वाचनका बेला खटिने गरी तयारी अवस्थामा रहन आह्वान गरे । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले वडा कार्यालयको स्वीकृति बजेटबाट प्राथमिक उपचार आधारभूत तालिम कार्यक्रम आयोजना गरिएको जनाउँदै आगामी दिनमा आवश्यकता र महत्वका आधारमा थप कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।