टी–२० विश्वकप :  दीपेन्द्रको अर्धशतकमा स्कटल्याण्डमाथि नेपालको जित

मंगलबार, फागुन ५, २०८२

काडमाडौं । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध निकालेको यो विजय १२ वर्षपछि विश्वकपमा पहिलो जित हो ।  मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी २० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो । यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो । स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे ।  नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । यस संस्करणमा नेपालको पावर प्लेमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध नेपालले पावर प्लेमा ४७–२ रन बनाएको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो ।
आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए । अर्का ओपनर आसिफ पनि १२औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले आफ् तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेल ९१६० लाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए ।
९८–३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा प्रमोट भएका गुल्सन झा मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए ।   आक्रमक ब्याटिङ गरेका दीपेन्द्रलाई गुल्सनले राम्रो साथ दिएका थिए ।
दीपेन्द्रले १६औं ओभरमा लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेपछि नेपालले एकै ओभरमा २० रन जोडेको थियो । दीपेन्द्रले अन्तिम ओभरमा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी२० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बने । यस्तै गुल्सन झाले अविजित २४ रन बनाए । १७ बल खेल्दै उनले १ चौका र २ छक्का प्रहार गरे । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाएको स्कटल्यान्डले त्यसपछि १० ओभरमा ९० रन जोड्दा ६ विकेट गुमाएको थियो ।
सुरुवाती १० ओभरमा स्कटिङ ब्याटरले नेपाली बलरमाथि डोमिनेट गरेपनि पहिलो विकेट लिएपछि भने नेपालले खेलमा केही दबाब सिर्जना गरेको थियो । १० ओभरपछि भने खेलमा नेपालले डोमिनेट गरेको थियो ।
ओपनरद्वय माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै स्कटल्यान्डका लागि राम्रो सुरुवात दिलाएका थिए । नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै ब्रेक थ्रो दिलाएका थिए । आठौं ओभरमा आएका रोहितले ६ रन दिएका थिए भने दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । मुन्सेले २९ बल खेल्दै ४ चौका मदतमा २७ रन बनाए । दोस्रो विकेटका लागि पनि माइकल जोन्सले ब्राण्ड म्याकुमलेनसँग अर्धशतकिय (५२ रन) साझेदारी गरे ।

डेथ ओभरमा नेपालको कमाल
अन्तिम पाँच ओभरमा नेपाली बलरले लगातार विकेट लिँदै स्कटल्यान्ड दबाबमा राख्यो । सोमपालले एक ओभरमा दुई विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो । नेपालले अन्तिम ओभर ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चेको थियो । यस विश्वकपमा डेथ ओभरमा नेपालको यो उत्कृष्ट बलिङ हो । सोमपालले एकै ओभरमा दुई विकेट लिए । उनले अर्धशतक बनाएर अघि बढिरहेका माइकल जोन्सलाई १६औं ओभरको दोस्रो बलमा बोल्ड गरे भने त्यसपछि चौथो बलमा म्याकमुलेनलाई कट एण्ड बोल्ड गरे । म्याकुलमलाई १५ रन हुँदा सन्दिप जोराले क्याच ड्रप गरेका थिए । तर सोमपालले भने आफ्नै बलिङमा विकेट लिए । यो दुई विकेट पछि सोमपाल टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक (९) विकेट लिने खेलाडी बने । यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अघि थिए । १७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए । बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए । १८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस (४ रन) लाई बोल्ड गरे । सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस (५) लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए ।  नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए । मार्क वाटले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले ११ विकेट लिए ।

HBLnH7WawAAMJ_G-(1)-1771347689.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार