टी–२० विश्वकप : सोमपालको उत्कृष्ट बलिङ, स्कटल्याण्डद्वारा नेपाललाई १७१ रनको लक्ष्य

मंगलबार, फागुन ५, २०८२

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ समूह ‘सी’ को खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ।  मुम्बईको वानखेडे स्टेडियममा मंगलबार टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर जर्ज मुन्सेले २७ रन बनाए भने ब्रान्डन म्याकमुलनले २५ रन जोडे ।  एक समय १० ओभरमा ८० रन जोडेर बलियो स्थितिमा देखिएको स्कटल्याण्डलाई नेपाली बलरहरूले अन्त्यतिर दबाबमा राख्न सफल भए । नेपालका लागि अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दै खेललाई नियन्त्रणमा लिए। सोमपालले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए ।  उनलाई साथ दिँदै नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले पनि १–१ विकेट झार्न सफल भए। स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भने विकेटविहीन रहे।
खेलको पछिल्लो ५ ओभरमा नेपाली बलरहरू हाबी भए । जहाँ स्कटल्याण्डले मात्र ३९ रन जोड्दा ६ विकेट गुमाएको थियो ।  स्कटल्याण्डका कप्तान रिचर्ड बेरिंगटन १० रनमा आउट भए भने मार्क वाटले अन्त्यमा ४ बलमा १० रनको सानो तर उपयोगी पारी खेले ।

नेपाललाई जितसहित विश्व कप यात्राको अन्त्य गर्ने अन्तिम मौका
भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपमा समूह चरणका खेल जारी छन् । नेपालसहित कतिपय टोली सुपर एट दौडबाट बाहिरिसकेका छन् । सुपर एट पुग्ने ५ टोलीको टुंगो लागिसकेको छ । बाँकी खेलले सुपर एट पुग्ने बाँकी ३ टोलीको तय गर्नेछ । समूह ‘सी’ बाट बाहिरिसकेका नेपाल र स्कटल्याण्डले आज साँझ एक अर्काको सामना गर्दैछन् । मुम्बईस्थित वानखेडे स्टेडियम खेल नेपाली समयअनुसार साँझ ७स्१५ बजे सुरु हुनेछ।
सुरुवाती ३ खेलमा हार भोगेको नेपाल स्कटल्यान्डविरुद्ध निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। सुरक्षाको कारण देखाउँदै भारत भ्रमण नगर्ने बंगलादेशको निर्णयपछि आइसिसी वरीयताका आधारमा अन्तिम समयमा विश्व कपमा मौका पाएको स्कटल्याण्डले ३ मध्ये १ खेल जितेको थियो । स्कटल्याण्डले इटालीलाई हराएको थियो। वेस्ट इन्डिज र इङ्ल्यान्डसँग पराजित भएपछि स्कटल्याण्ड सुपर एट दौडबाट बाहिरिएको थियो।
पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनको झिनो अन्तरको हातमा पनि नेपाली टोलीले चर्चा पाएको थियो। त्यसपछि इटालीसँग १० र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको इङ्ल्यान्डको प्रदर्शन छाँयामा परेको थियो।
यो समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर सुपर एट मा पुगेका छन् । नेपाल, स्कटल्यान्डसँगै इटाली समूह चरणबाटै बाहिरिएका छन् । सन् २०१४ को पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा ३ मध्ये २ खेल जितेको नेपालले त्यसपछिका २ पटकको सहभागितामा अहिलेसम्म जित निकाल्न सकेको छैन। २०२४ को विश्वकपमा नेपालले ४ मध्ये ३ खेलमा हार बेहोरेको थियो। श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपालले १ अंक जोडेको थियो। त्यसबाहेक नेपालले विश्वकपका २०२४ र जारी विश्वकपमा खेलेर अंक जोड्न सकेको छैन । ३ खेलको प्रर्दशनबाट निराश नेपाललाई जित बाट विश्वकप यात्राको अन्त्य गर्ने आज एउटा अन्तिम अवसर रहेको छ।
त्यसो त नेपाल र स्कटल्यान्डबीच पछिल्ला भेट निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । गत जुनमा भएको एकदिवसीय विश्वकप लिग टु अन्तर्गत दुवै टोलीले एक एक खेल जितेका थिए। त्यस्तै सोही समयमा भएको टि‌ ट्वान्टी आईमा पनि नेपाल र स्कटल्यान्डले एक–एक खेल जित्दै बराबरी नतिजा निकालेका थिए । नेपाल र स्कटल्यान्डबीचको टि ट्वान्टी इतिहास हेर्दा २०१३ मा युएईमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई पराजित गरेको थियो। त्यसयता भने दुवै टोलीबीचको प्रतिस्पर्धा सन्तुलित बन्दै आएको छ । नेपालका लागि स्कटल्यान्डविरुद्धको खेल प्रतिष्ठाका लागि महत्वपूर्ण मानिएको छ। प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा पनि जित निकाल्दै सकारात्मक अन्त्य गर्ने लक्ष्य नेपाली टोलीको रहनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार