सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । सिरहाको गोलाजार नगरपालिका ३ मा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्न वडा स्तरीय फुटबल प्रतियोगिता गरिरहेको पाइएको छ । फागुन–२१ प्रतिनिधिसभाको राजनीतिक माहोल तातेका बेला वडा अध्यक्षले आफ्नो उम्मेदवारलाई समर्थन गर्नका लागि प्रतियोगितामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ । स्थानीयवासीहरूका अनुसार प्रतियोगिताको नाममा राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखिएको छ।सोही वडाका एक स्थानीयले भने, नेकपा पार्टीबाट सिरहा क्षेत्र नं–३ का उम्मेदवार बिश्वनाथ साहले एक लाख रुपैयाँ सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार सो सहयोग मतदातालाई आकर्षित गर्ने रणनीतिअन्तर्गत प्रदान गरिएको हो । यता वडाअध्यक्ष धनप्रसाद लामाले भने आफूलाई प्रमुख अतिथिका रूपमा बोलाइएकाले कार्यक्रममा उपस्थित भएको स्पष्ट पारे । उनले भने,‘सहयोगका लागि निवेदन वडामा आएको छ । तर हाल लागू रहेको निर्वाचन आचारसंहिता विपरित कुनै किसिमको आर्थिक सहयोग दिन मिल्दैन । अहिले दिने–नदिने विषयमा कुनै निर्णय गरिएको छैन । अध्यक्ष लामा २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओवादी पार्टीबाट निर्वाचित भएका हुन् । प्रतियोगिताका अध्यक्ष प्रमोद लामाले भने कार्यक्रम वडा कार्यालयकै आयोजनामा भइरहेको बताए । वडाले एक लाख रुपैयाँ दिने भनेपछि हामीले आफ्नै खर्चमा प्रतियोगिता सञ्चालन अहिले गरिरहेको बताए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सार्वजनिक पदाधिकारी वा उम्मेदवारबाट प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक सहयोग हुनु गम्भीर विषय मानिन्छ । यस घटनाले निर्वाचन आचारसंहिताको पालना र पारदर्शितामाथि प्रश्न उठाएको छ ।