सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विद्युत, सूचना तथा सञ्चार प्रविधि, खानेपानी र सरसफाइजस्ता आधारभूत सेवाको पहुँच उल्लेख्य बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–०८२ को प्रतिवेदनअनुसार नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै ९९.५ प्रतिशत घरमा विद्युत पुगेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशतमा मात्र पहुँच छ । टेलिफोन सुविधा पनि व्यापक बनेको छ । देशभर ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर वा मोबाइल) सुविधा पुगेको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै ९७.१ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ९२.६ प्रतिशत पहुँच रहेको छ। सूचना तथा सञ्चार प्रविधिको प्रयोग उल्लेख्य रूपमा बढेको देखिएको छ। सर्वेक्षणअनुसार ८२ प्रतिशत घरपरिवारले इन्टरनेटसहितको उपकरण प्रयोग गरिरहेका छन् । १५–४९ वर्ष उमेर समूहका ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन छ भने ९०.४ प्रतिशत पुरुषसँग मोबाइल रहेको छ । सर्वेक्षणले बाल तथा नवजात शिशु मृत्युदर अझै चुनौतीपूर्ण रहेको देखाएको छ। प्रतिएक हजार जीवित जन्ममा १ वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिका बालमृत्युदर ३१ प्रति हजार रहेको छ भने नवजात (१ महिना नपुग्दै) मृत्युदर १७ प्रति हजार छ । प्रदेशगत रूपमा नवजात मृत्युदर सुदूरपश्चिममा सबैभन्दा बढी २६ प्रति हजार र बागमतीमा सबैभन्दा कम १० प्रति हजार रहेको छ । कुल प्रजनन दर घटेर प्रति महिला १.९ मा झरेको छ। १५–१९ वर्षका किशोरीमा प्रति हजार ४८ जन्म हुने गरेको देखिएको छ भने २०–२४ वर्ष समूहका ११.२ प्रतिशत महिलाले १८ वर्षअघि नै बच्चा जन्माएका छन् । मातृत्व सेवामा भने सुधार देखिएको छ। पछिल्ला दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएका छन्। ९०.५ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा भएका छन् भने ९१.४ प्रतिशत प्रसूति दक्ष स्वास्थ्यकर्मीबाट गरिएका छन् । विद्यालय पहुँचमा सुधार भए पनि माध्यमिक तहमा चुनौती देखिएको छ । कक्षा १–५ का ४.५ प्रतिशत, कक्षा ६–८ का ३.६ प्रतिशत र कक्षा ९–१२ का १३.२ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । ९८.२ प्रतिशत जनसंख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरे पनि पानीको गुणस्तर चिन्ताजनक देखिएको छ । ६०.४ प्रतिशत नमुनामा इकोली जीवाणु भेटिएको छ । यस्तै, ९२।४ प्रतिशतले सुधारिएको शौचालय प्रयोग गर्छन् भने ८६.४ प्रतिशत घरमा हात धुने निश्चित स्थान रहेको छ ।