सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन् । माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा–भाषी समुदायको संस्कृति, जीवनशैली र रहन–सहन झल्काउने कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर भएको बताए। मधेशका गाउँघरका आमाहरूले घरका भित्तामा कोर्दै आएका चित्रकलाहरू आज देश–विदेशमा चिनिनु गर्वको विषय भएको उनले उल्लेख गरे । मिथिला चित्रकलालाई ग्रामीण परिवेशबाट आधुनिक युगसँग जोड्ने काम यस प्रकारका प्रदर्शनीले गरिरहेको प्रदेश प्रमुख लाभको भनाइ थियो। उनले ललितकला मनोरञ्जन मात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड भएको बताए। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशको संस्कृति, कला, साहित्य र परम्परालाई जीवित राख्न प्रज्ञा–प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।