ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुनः सञ्चालन गर्ने 

आइतबार, माघ २५, २०८२

ललितपुर । ललितपुर महानगरले २०४६ सालपछि बन्द भएको शारदा पुस्तकालय संचालनमा ल्याउने भएको छ ।  ललितपुर महानगरले आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुनः संंचालन सम्बन्धी छलफलमा महानगर प्रमुख महर्जनले शारदा पुस्तकालय संचालन महानगरको नयाँ भवनमा सञ्चालन गरिने जानकारी दिए ।  २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । नगर प्रमुख महर्जनले भने, ‘ नगर पञ्चायतको भवनमै पुस्तकालय संचालन भएकाले त्यो पुस्तकालय आन्दोलनका बेला ध्वस्त भयो । ’ लामो समयसम्म संचालन नरहेको यो पुस्तकालयलाई अब महानगरले संचालनमा ल्याउने नगर प्रमुख महर्जनले बताए । शारदा पुस्तकालयलाई पुनः सञ्चालनमा ल्याउनको लागि सत्यमोहन जोशीले पटक पटक सम्झाएको नगर प्रमुख महर्जनले स्मरण गरे । महानगरले संचालन गर्ने शारदा पुस्तकालयले जेनजी पुस्ताको आवश्यकता र मागलाई समेत सम्बोधन गर्ने दाबी गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले शारदा पुस्तकालय संचालनको लागि आवश्यक कर्मचारी, नीति र नियम बनाएर अघि बढ्ने बताइन् ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले महानगरले संचालन गर्ने पुस्तकालयलाई केन्द्रीय पुस्तकालयले हरतरहले सहयोग गर्ने बताए ।  उनले बालबालिका र ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने प्रकृतिको पुस्तकालय बनाउनुपर्ने धारणा राखे । नेपाल राष्ट्रिय पुस्तकालयका सुजाता पौडेलले महानगरले संचालन गर्ने पुस्तकालयलाई राष्ट्रिय पुस्तकालयले संचालन गर्ने बताए ।  मदन पुस्तकालयका दीपक अर्यालले महानगरले संचालन गर्ने शारदा पुस्तकालय कला, संस्कृति, सम्पदा र भाषामा केन्द्रित हुनुपर्ने बताए । यो पुस्तकालयलाई रिसर्च सेन्टरको रुपमा संचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।  कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक चन्द्रलाल महर्जन, सुशासन तथा संस्थाथत विकास समितिका संयोजक  श्रीगोपाल महर्जन, शहरी योजना व्यवस्थापन समितिका संयोजक गणेश के.सीको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, निर्देशक देवप्रसाद गुरागाइँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार