कोरोना भाइरसको पछिल्लो उत्परिवर्तन कति चिन्ताको विषय

बिहीबार, साउन १४, २०७८

काठमाडौं । कोरोनाभाइरसको नयाँ उत्परिवर्तन पुष्टि भएसँगै सम्भावित जोखिमबारे मानिसहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । नयाँ दिल्लीस्थित एउटा प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा कोरोनाभाइरसका तीनवटा नमुनामा उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट सङ्कलित नमुनामध्ये ४७ वटा असार ३० गते भारत पठाइएको थियो ।


ती नमुनाको जीन सीक्वन्सिङ गर्दा सबैमा 'डेल्टा भेरिअन्ट' पुष्टि भएको तथा तीमध्ये तीन वटामा थप उत्परिवर्तन K417N भेटिएको थियो । नयाँ उत्परिवर्तनलाई A.YI  नाम दिइएको छ ।
योसहित नेपालमा हालसम्म 'भेरिअन्ट अफ कन्सर्न' का रूपमा वर्गीकरण गरिएका अल्फा र डेल्टा भेरिअन्ट तथा 'भेरिअन्ट अफ इन्टरेस्ट' का रूपमा रहेको कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ उत्परिवर्तनले के सङ्केत गर्छ ?
अमेरिकाको मिनिसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेओ क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काका अनुसार नयाँ जीन सीक्वन्सिङको नतिजा हेर्दा झन्डै ६ प्रतिशतमा K417N  उत्परिवर्तन देखिन्छ।
'बुझ्नुपर्ने कुरा के छ भने कहिलेकाहीँ एउटा म्यूटेशन थपियो भने त्यसले भाइरसलाई कमजोर बनाइदिने हुन्छ भने कहिलेकाहीँ एउटा म्यूटेशनले पनि नै सङ्क्रमणको जोखिम बढाइदिने हुन्छ', खड्काले भने ।
'यदि यो नयाँ उत्परिवर्तनका कारण सङ्क्रमण तीव्र रूपमा बढ्ने रहेछ भने नयाँ म्यूटेशन भएको भाइरस देखिँदै जाने र पुरानो हराउँदै जाने सीक्वन्सिङबाट देखिनेछ । त्यो भएर पटकपटक सीक्वन्सिङ गर्दै मिहिन किसिमले हेर्नुपर्ने हुन्छ' उनले भने ।
वरिष्ठ भारतीय भाइरसविद् डा. शाहिद जमीलले K417N नाम दिइएको उत्परिवर्तनले एन्टिबडीहरू अर्थात्‌ रोगप्रतिरोधी क्षमताको प्रभावकारिता कम गर्ने ठानिएको रोएटर्सलाई बताएका थिए ।
नेपालमा पुष्टि भएका भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ उत्परिवर्तनले भाइरसको प्रकृतिमा फरक पार्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे बताउँछन् ।
'यसको मतलब के हो भने नयाँ उत्परिवर्तनले सङ्क्रमणको दर बढाउन सक्छ। भाइरलजीको भाषामा भिरुलन्ट भनिन्छ। त्यसले बढी असर पार्न सक्ने भयो, जोखिम बढ्न सक्ने भयो' सम्भावित असरबारे उनले भने ।
विभिन्न देशमा गरिएका अध्ययनहरूले हाल प्रयोगमा रहेका कोभिड खोपहरू प्रभावकारी नै देखिएको पाइएको विज्ञहरू बताउँछन् ।
डेल्टा भेरिअन्टको हकमा केही अध्ययन भइसकेका छन् । 'त्यही भेरिअन्टमा भएको नयाँ उत्परिवर्तनलाई लिएर चाहिँ अध्ययन हुन बाँकी छ' भाइरसविद् खड्काले भने । 
'हुन त खोप लगाइसकेपछि पनि सङ्क्रमण हुन सक्छ । तर अपवादबाहेक खोपले गम्भीर सङ्क्रमण हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ भन्ने कुरा प्रमाणित भइसकेको छ' उनले भने । त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. पाण्डे पनि सहमत छन् ।
भाइरसमा नयाँ उत्परिवर्तन भइरहँदा पनि अहिलेसम्म के देखिन्छ भने कोभिड-१९ विरुद्ध दिने गरिएका खोपहरू प्रभावकारी नै देखिएका छन् डा. पाण्डेले भने ।

कोरोनाभाइरसका विभिन्न भेरिअन्ट
हाल विश्वभरि कोभिडका थुप्रै भेरिअन्टहरू फैलिरहेका छन् । तीमध्ये एउटा डेल्टा भेरिअन्ट केही देशमा तीव्र गतिमा फैलिरहेको छ ।
भाइरसहरू सधैँ उत्परिवर्तन भइरहने भए पनि सबै परिवर्तन महत्त्वपूर्ण हुँदैनन् । कतिपय उत्परिवर्तनले त भाइरसलाई नै कमजोर बनाउँछन् । तर कतिपय रोगलाई झन् सङ्क्रामक अथवा खतरनाक बनाउने हुन्छन् । सम्भावित जोखिम बढी भएका भेरिअन्टलाई भेरिअन्ट्स अफ कन्सर्न भन्ने गरिन्छ । त्यस्ता भाइरसलाई स्वास्थ्य अधिकारीहरूले निगरानी सूचीमा राख्छन् ।

तीमध्ये केही यी हुन् :

  • डेल्टा (B.1.617.2) यूकेमा देखिएका नयाँ सङ्क्रमितमध्ये ९९ प्रतिशतमा यो भेरिअन्ट पाइएको छ
  • अल्फा (B.1.1.7) पहिलो पटक यूकेमा देखिएको यो भेरिअन्ट ५० भन्दा बढी देशमा फैलिसकेको छ र फेरि उत्परिवर्तित भइरहेको छ
  • बीटा (B.1.351) पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिअन्ट यूकेसहित कम्तीमा २० वटा देशमा देखिएको छ
  • गामा (P.1)  ब्रजिलमा पहिलो पटक देखिएको यो भेरिअन्ट १० वटाभन्दा बढी देशमा पुष्टि भइसकेको छ ।-बीबीसी  

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार