सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर) । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी अन्तर्गतको सुनाकोठी स्वास्थ्य चौकीले आजदेखि आफ्नो सेवा विस्तार गरेको छ । स्वास्थ्य चौकीले आजदेखि ल्याब सेवा सञ्चालन गर्नुका साथै फिजियोथेरापी सेवा पनि सुरु गरेको छ । स्वास्थ्य चौकीका अनुसार यो ल्याब सेवा ‘घ’ क्याटगोरीको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वास्थ्य चौकीले सुरु गरेको ल्याब सेवा तथा फिजियो थेरापी सेवाको उद्घाटन गरे । महानगर प्रमुख महर्जनले ल्याब सेवा उद्घाटनपछि यसले दिने सुविधा तथा फिजियोथेरापी सेवा सञ्चालनका विषयमा प्राविधिकहरूसँग जिज्ञसा राखेका थिए । स्वास्थ्य चौकीका प्रमुखसहितका प्राविधिकहरूले ल्याब सेवा तथा फिजियोथेरापी सेवाका बारेमा महानगर प्रमुख महर्जनलाई जानकारी गराएका थिए । लपुमनपा–२७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख महर्जनले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।
कार्यक्रममा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुनाकोठी स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु हुनु सुखद क्षण रहेको जनाउँदै ल्याब सेवा तथा फिजियोथेरापी सेवा उपयोग गरी लाभ लिन वडावासीलाई आह्वान गरिन् । ललितपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का वडाअध्यक्ष राजु महर्जन तथा लपुमनपा २६ का वडाअध्यक्ष सुरेश महर्जनले महानगरले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जनाए । ल्याब तथा फिजियोथेरापी सेवा उद्घाटन समारोहका सभापति एवम् २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले आफू वडाअध्यक्षमा निर्वाचित भएर आएदेखि नै वडावासीको स्वास्थ्यलाई महत्व दिँदै ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्दा पाएको फिडब्याकपछि ल्याब सेवा सुरु गरेको जानकारी दिए । औषधि वितरण गर्दा त्यसको असर ज्येष्ठ नागरिकमा परेको भन्ने फिडब्याक पाएपछि त्यो सेवा बन्दा गरी फिजियोथेरापीतर्फ आफूहरू क्रियाशील भएको वडाअध्यक्ष महर्जनले बताए । स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडासदस्य रामदेवी महर्जनले स्वागत मन्तव्य राखेकी थिइन् । ल्याब सेवा सञ्चालन तथा फिजियोथेरापी सेवा सञ्चालनका अवसरमा आयोजित समारोहमा वडा सदस्यहरू निरोज महर्जन, श्यामकृष्ण महर्जन, वडा सचिव भीमसेनप्रसाद रिमाल, वडाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयम् सेविका, समाजसेवी, ज्येष्ठ नागरिक, राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।