ललितपुरमा ‘फोहोरमैला व्यवस्थापन र सहरी सफाई’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

पद्यप्रकाश, टीका विद्याश्रम, रुद्रायणी मावि भए प्रथम, द्धितीय र तृतीय 
शनिबार, कात्तिक २९, २०८२

ललितपुर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर महानगरमा रहेका माध्यमिक तहका २५ वटा सामुदायिक विद्यालय मध्ये उक्त प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो । “फोहोरमैला व्यवस्थापन र सहरी सफाई’’ विषयमा विद्यार्थीले दमदार प्रस्तुति गरेका थिए । प्रतियोगितामा  पद्मप्रकाश माध्यमिक विद्यालयकी जगदम्बा भट्ट प्रथम, टीका विद्याश्रम माध्यमिक विद्यालयका सुरेश थापा द्वितीय, रुद्रायणी माध्यमिक विद्यालयकी मिङमा तामाङ तृतीय भए । त्यसैगरी सान्त्वना पुरस्कार पाटन माध्यमिक विद्यालयका ओम पाण्डेले प्राप्त गरे ।  प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण र हरियाली प्रबद्र्धनमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वातावरण र सम्पदा संरक्षणमा विद्यार्थीलाई उत्तरदायी बनाउन एक विद्यालय एक सम्पदा कार्यक्रम सुरु गरेको बताए । उनले भने, ‘एउटा विद्यालयलाई, एउटा सम्पदा सफा र संरक्षण गर्ने जिम्मा दिएका छौँ , यो कार्यक्रमले वातावरण संरक्षण र सम्पदा संरक्षणमा ध्यान जाने भयो  ।’

chiri--1763181758.png
महानगरले  एक विद्यालय एक बगैँचा कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले विद्यालयमा चिटिक्क परेको बगैँचा बनाउने विद्यालयलाई महानगरले पुरस्कृत गर्ने बताए । शौचालय सफा राख्ने विद्यालयलाई अनुगमन पश्चात पुरस्कृत गर्ने कार्यक्रम समेत महानगरले ल्याउन लागेको  उनले बताए ।  अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले वातावरण जोगाउन पाठ्यपुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्नु सुझाव दिए ।  अभिभावक संघ ललितपुरका अध्यक्ष देवराज लामिछानले विद्यार्थी परिवर्तनका संवाहक भएको बताउँदै वातावरण संरक्षण र सरसफाईका लागि विद्यार्थीको योगदान महत्वपूर्ण हुने बताए ।  प्रतियोगितामा सहभागी सबै  विद्यार्थीलाई प्रमाणपत्र  र मायाको चिह्न स्वरूप स्कुल ब्याग र एक दर्जन कपी हस्तान्रण गरिएको थियो । 
कार्यक्रममा अग्रज कलाकार किरण केसी, ललितपुर चक्रपथ महानगर सफाई अभियान अध्यक्ष शहदेव संकल्प राउतले वातावरण संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण भएको बताउँदै अभिभावक , विद्यालय, शिक्षक र समाजले नै उनीहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार