सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको भीडले भरिन्थ्यो । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो भिडले यहाँको व्यापार व्यवसायलाई सधैं चलायमान बनाइराख्थ्यो । परम्परागत हस्कलाका सामाग्री, नेवारीकला कौशल, पूजा सामग्रीदेखि विभिन्न किसीमका व्यापार यहाँ हुने गर्दछन् । आन्तरिक देखि बाह्य पर्यटकहरुले हस्तकलाका सामाग्रीहरु खरिद गर्ने भएकाले स्थानियकलालाई प्रोत्साहन मिलको छ ।
तर पछिलो समय यहाँ आउने पर्यटकहरुको संङ्ख्या तुलनात्मक रुपमा कम भएको महशुस गरेको स्थानियहरु बताउँछन् । यहाँको व्यापार मानिसहरूले मात्र होइन, उड्ने परेवालाले पनि गरिरहेको देखिन्थ्यो । धर्म कमाउने उद्देश्यले मानिसहरू परेवालाई चारो खुवाउन आउँथे, जसले मकै र गेडागुडिको व्यापारलाई थप चलायमान बनाउँथ्यो र स–साना व्यापारीलाई समेत त्यसले धेरै हद सम्म राहत प्रादान गरेको थियो ।
चिसो मौसममा समेत महिलाहरू भुइँमै बसेर मकै बेचिरहेका दृश्य यहाँ सामान्य थिए । विहान उज्यालो नहुँदै र साँझ ढल्किँदै गर्दा, दिनमा अन्य काम गर्ने व्यापारीहरू कृष्ण मन्दिर परिसरलाई आफ्नो व्यापार थलो बनाउँथे । तर पछिल्ला दिनहरूमा यहाँको चहलपहल उल्लेख्य रूपमा घटेको छ ।
व्यापारीहरू नियमित रूपमा बसे पनि किन्ने मानिसहरूको संख्या कम हुँदै गएको उनीहरूको गुनासो छ । फूल, गुच्छा, माला, धूपबत्ती तथा पूजा सामग्री बेच्दै आएका राजु चित्रकार भन्छन,“अहिले व्यापार लगभग ठप्प छ । विहान–साँझ फूल बेचेर चिया खान पुग्ने मात्रै आम्दानी हुन्छ । अलि राम्रो व्यापार होला भन्ने आशामा आउँछु, तर सोचेजस्तो हुँदैन । अन्ततः निरास भएर फर्किनु पर्छ ।”
चित्रकारका अनुसार पाटन कृष्ण मन्दिरमा पहिले जस्तो चहलपहल अब देखिँदैन । “युवा तथा किशोर उमेर समुहका मानिसहरूले नेपालमा भविष्य नदेखेर विदेश गइसके,” उनी भन्छन् । यही मन्दिर परिसरमा तीन पुस्तादेखि फूल बेच्दै आएको आफ्नो परिवारले अहिले दिन कटाउन मात्रै गाह्रो भइरहेको अनुभव गरेको उनी सुनाउँछन् ।
भावुक हुँदै चित्रकारले भने, “नेपालमा केही गरेर खाने व्यवस्था नहुँदा सबै विदेश गएका छन् । मलाई पनि विदेश जान मन लाग्छ, तर जानका लागि खर्च छैन ।” आफू ललितपुर क्षेत्र नम्बर २ को मतदाता भएको उल्लेख गर्दै उनले नेताहरू भोट माग्न आउँदा आश्वासन दिएर जाने तर जितेपछि फर्केर नहेर्ने गुनासो गरे । “युवाहरूलाई विदेश जानु बाहेक अर्को विकल्प छैन,” भन्दै उनले दुखेसो पोखे ।
वास्तवमा नेपाली जनतालाई नेपालमै टिकाइराख्ने वातावरण कमजोर बन्दै गएको देखिन्छ । नेताहरूका मिठा भाषणले चुनावमा भोट त ल्याउँछन्, तर युवाहरू र बेरोजगारलाई देशमै अवसर दिने ठोस नीति र माध्यमको अभाव कायमै छ । यसको प्रत्यक्ष असर पाटन कृष्ण मन्दिरजस्ता परम्परागत व्यापारिक थलो र त्यहाँ निर्भर स्थानीय व्यापारीहरूमा स्पष्ट रूपमा देखिन थालेको छ ।