दोस्रो गोदावरी मेयर कपको उपाधी वडा नं. ५ लेलेलाई

आइतबार, माघ १८, २०८२

ललितपुर । दोस्रो गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ लेलेले जितेको छ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ गोदावरीलाई पेनाल्टिमा ५–३ गोल अन्तरले हराउँदै लेलेले उपाधि चुमेको छ । विजेता टोलीले १ लाख नगद र ट्रफि हात पारेको छ ।  गत वर्ष वडा नम्बर ६ टिकाभैरबलाई हराएर उपाधि जितेको गोदावरीले उपविजेता बनेसँगै नगद ५० हजार आफ्नो पक्षमा पारेको छ । निर्धारित समयसम्म दुबैतर्फबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टि सुटआउट मार्फत गरिएको थियो ।  पेनाल्टिमा गोदावरीका सागर तामाङ, सायर तामाङ र ईश्वर मर्हजनले गोल गरे पनि सुवास गोलेले गोल गर्न सकेनन् । उता लेलेका लागि विपिन मर्हजन, शुसान्त घलान तामाङ , रोहित रमण डंंगोल र सुजन डंगोलले गोल गरेपछि पाँचौँ पेनाल्टि हान्न पुगेका बिक्की मर्हजनले गोल गरेसँगै लेले विजयी बनेको हो । आफ्नो पहिलो खेलमा वडा नम्बर १० टाहाखेललाई १–० गोलले हराएको लेलेले क्वार्टरफाइनलमा वडा नम्बर २ विशंखुनारायणलाई समान १–० गोलले नै पाखा लगाएको थियो । यस्तै सेमिफाइनलमा पनि वडा नम्बर १२ ठेचोलाई १–० ले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । बाग्मती प्रदेश सभा सदस्य एवं पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण मर्हजन र नगर प्रमुख गजेन्द्र मर्हजनले प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई ट्रफि तथा मेडल वितरण गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ५ का आयुष श्रेष्ठ भए । आयुष नै उत्कृष्ट गोलकिपर पनि बने । उत्कृष्ट डिफेन्डरको उपाधि वडा नम्बर ३ का सागर तामाङले जिते । उत्कृष्ट प्रशिक्षक विजेता टिमका शिवजी सिल्वाल घोषित भए । प्रतियोगितामा ईमर्जिङ खेलाडीको पुरस्कार वडा नम्बर १२ का आर्यन महर्जनलाई प्रदान गरिएको थियो ।  सर्वाधिक गोलकर्ता वडा नम्बर ११ का सुजित श्रेष्ठ र अनिल देशार भए । उनीहरू दुबैले ३–३ गोल गरेका थिए । पहिलो खेल नै हारे पनि उत्कृष्ट खेल प्रर्दशन गरेको  वडा नम्बर १० टाहाखेल फेयर प्ले टिम बन्यो । उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरीका एसएसपी दिलिप घिमीरे, सशस्त्र प्रहरीका एसएसपी विकास घिमिरे, वडा नम्बर ३ का वडाअध्यक्ष राज घिमिरे, नगर प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वाल , वडा नम्बर ६ का वडाअध्यक्ष विष्णुमान मर्हजन, वडा नम्बर ९ का वडा अध्यक्ष आत्माराम थापा, वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा, नगर खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाअध्यक्ष निरोज बज्राचार्यले पुरस्कार वितरण गरे । प्रतियोगितामा नगर भित्रका सबै १४ वटै वडा सहभागी थिए । 
समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री मीनकृष्ण महर्जनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उत्पादन र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए । 
कार्यक्रमका अध्यक्ष एवम् गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले विजेता, उपविजेता तथा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडी, आयोजक, स्वयंसेवक र सहयोगी निकायहरूको योगदानको उच्च प्रशंसा गरे ।  प्रतियोगिताबाट १४ वटै वडाका खेलाडीहरुको प्रर्दशनका आधारमा गोदावरी नगरको सिंगो टिम तयार पारिने नगरप्रमुख मर्हजनले बताए ।  उनले आगामी दिनमा यो मैदान फराकिलो बनाएर यसको स्तरोन्नति गरिने बताए ।  वडा नम्बर १० का वडाअध्यक्ष शेखर न्यौपानेले यस्ता प्रतियोगिताले नगरको प्रतिष्ठा बढेको उल्लेख गरे ।  ८ महिनाअघि पनि यही रंगशालाको मैदानमा दोस्रो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगितामा गोदावरी नगरपालिकालाई हराउँदै काठमाडौं महानगरपालिकाले लगातार दोस्रोपल्ट मेयर कप फुटबलको उपाधि जितेको थियो।  गोदावरी मेयर कप– खेल, एकता र उत्साहको उत्सव नारा दिएर सुरु गरिएको उक्त प्रतियोगिताको गत शनिबार मेयर गजेन्द्र महर्जनले उद्घाटन गरेका थिए ।  

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार