दोलखाको पालिकास्तरीय भलिबल प्रतियोगिता काठमाडौंमा

शनिबार, माघ १७, २०८२

काठमाडौं । च्यामा–काठमाडौं सेवा समाजको आयोजनामा दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। कागेश्वरी मनहरा नगरपालिकाको अमरसिंह चौरमा आयोजित प्रतियोगिताको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले गरेका हुन् । उद्घाटन समारोहमा आसन्न प्रतिनिधिसभा निर्वाचनका दोलखाली उम्मेदवार पार्वत गुरुङ, विशाल खड्का, अजयबाबु शिवाकोटीलगायत जिल्लाका विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष विष्णु पोखरेलका अनुसार प्रतियोगिताको पहिलो दिन लिग चरणका चार खेल र क्वाटरफाइनलको एउटा खेल सम्पन्न भएको छ। लिग चरणमा पहिलो खेलमा आयोजक च्यामा–काठमाडौं सेवा समाजलाई पराजित गर्दै गौरीशङ्कर गाउँपालिकाको टिम विजयी भएको छ । दोस्रो खेलमा तामाकोशी गाउँपालिकाको ए टिमलाई हराउँदै जिरी नगरपालिकाको टिम विजयी बन्यो । तेस्रो खेलमा कालिञ्चोक गाउँपालिकाको ए टिमलाई पराजित गर्दै तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लब विजेता घोषित भयो । चौथो खेलमा कालिञ्चोक गाउँपालिकाको बि टिमलाई पराजित गर्दै मेलुङ गाउँपालिकाले क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबारै सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा गौरीशङ्कर गाउँपालिकालाई हराउँदै कालिञ्चोक गाउँपालिकाको ए टिम सेमीफाइनलमा प्रवेश गरेको छ । बाँकी सबै क्वाटरफाइनल खेल आज (शनिबार) सञ्चालन हुने खेल संयोजक भविन्द्र फुयाँलले जानकारी दिए । प्रतियोगितामा कुल आठ टिमले सहभागिता जनाएका छन् । विजेताहरूले प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार