सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालय अन्तर्गतको बाल अधिकार समितिले वडा भित्र रहेको विद्यालयका विद्यार्थीहरूलाई समेटेर उद्घोषण तालिम दिएको छ । ‘‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी, बालबालिका राष्ट्रका गौरब हुन्’’ भन्ने नारा दिएर वडा भित्र रहेका सरकारी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर ५ दिवसीय उद्घोषण तालिम कार्यक्रम सञ्चालन गरिएको हो । तालिम समापनका अवसरमा प्रमुखअतिथि वडाअध्यक्ष अमृत जंग महतले तालिमका सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । उनले तालिमका प्रशिक्षकहरूलाई पनि सम्मान पत्र प्रदान गरेका थिए । समापन कार्यक्रममा वडाअध्यक्ष महतसहित वडा सदस्यहरू सहनशीला कार्की, सनतकार्की, संगीता अछामी, वडासचिव सुलोचना लुईटेलसहित बालअधिकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । उद्घोषण तालिममा सहभागी विद्यार्थीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व बाल अधिकार समितिका संयोजक तथा वडासदस्य संगीता अछामीले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अमृत जंग महतले मानिस परिवर्तनशील भएको जनाउँदै यहिले एआईको जमान आइसकेकोले सोही अनुसार आफूलाई पनि परिस्कृत गर्दै लग्नु पर्नेमा जोड दिए । विद्यार्थीले समय व्यवस्थापन गर्दै आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने सुझाव दिँदै वडाअध्यक्ष महतले वडा कार्यालयले दिएको उद्घोषणा तालिमपछि विद्यार्थीहरूले समाजको ‘फेस’ गर्न सक्नुपर्ने बताए । कार्यक्रममा वडासदस्य सनत कार्कीले आफूहरूको पालमा यस्ता खालका तालिमको व्यवस्था नभएको स्मरण गर्दै वडा कार्यालयले उद्घोषण तालिम सञ्चालन गरी सहभागी विद्यार्थीहरूलाई वौद्धिक ज्ञान प्राप्त गर्ने अवसर दिएको बताए । स्थानीय तहले बालअधिकारलाई महत्वपूर्ण विषय मानेर बजेट विनियोजन गर्न लागेको पनि उनले बताए । कार्यक्रममा उद्घोषण तालिममा सहभागी विद्यार्थीहरूले तालिम लिएपछि आफूहरूमा कार्यक्रम सञ्चालन गर्न तथा समाज फेस गर्न साहस आएको बताएका थिए । कार्यक्रमकी सभापति वडासदस्य एवम् बाल अधिकार समितिका संयोगक अछामीले बोल्नेले संसार जित्छ भनेझै फेस टु फेस गर्न सक्नुपर्नेमा जोड दिइन् ।