संसद् विघटनबारे देउवा भन्छन् : ओलीको कदम असंवैधानिक छ, तर आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन

बिहीबार, पुस १६, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको जिकिर गरेका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी पनि गरे ।  राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’ सभापति देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन नै अहिलेको अभिभारा रहेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको स्मरण गरे । उनले जनअधिकारको रक्षा नै मेलमिलाप नीतिको सान्दर्भिकता रहेको उल्लेख गरे ।
यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।’ ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने । तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने उनले बताए । कुनै पनि बहानामा एकदलीय शासन पद्दती नमान्ने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’ बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको जनाउँदै देउवाले उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको बताए । मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाको भनाइ थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार