सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो । भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड शहरका मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरे । महानगरको प्रमुखको प्रतिनिधिमण्डलमा महानगरको वडा नं.१३ का वडा अध्यक्ष गणेश केसी छन् । ललितपुर महानगरका प्रमुख महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरले अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु महत्वपूर्ण विषय भएको बताए । नगर प्रमुख महर्जनले यो सम्बन्धले महानगरको मात्रै नभई नेपालको छविलाई समेत अन्तर्राष्ट्रिय रुपमा थप उचाइ दिएको बताए । भिगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रुपमा व्याख्या गर्दै नगरप्रमुख महर्जनले भने, ‘अब हामी एक अर्काको नजिकको साथी भयौं, दु:ख, सुःख साटासट गर्छौै ।’ ब्रमुफिल्ड शहरले गरेका राम्रा काम आफ्नो नगरपालिको अनुकरण गर्ने बताउँदै कला, संस्कृति र सम्पदाको शहर ललितपुर महानगरबाट ब्रुमफिल्ड सहरले पनि धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । उनले भने, ‘हाम्रो मित्रताको चिनो स्वरुप कलात्मक मन्दिर, फल्चा हामी ब्रुमफिल्डमा निर्माण गर्न सक्छौं ।’ ब्रुमफिल्ड शहरका गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न शहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । ललितपुर महानगरको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाइन् ।
ललितपुर महानगरले यसअघि अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियाको चेओरवन, रसियाको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ । यसैगरी देशभित्रका छ वटा पालिकासँग महानगरको भगिनीसम्बन्ध कायम भएको छ । सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ ।