सोसल मिडिया
Contact Us
युनिकोड
गोदावरी (ललितपुर) । ललितपुर महानगरपालिका २८ नंं. वडाले वडाभित्र रहेका महिला समूहहरूबीच समस्या, उपलब्धि र आवश्यकताका बारेमा अन्तरक्रिया गरेको छ । ललितपुरको गोदावरीमा आयोजना गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला केसी नेपाल प्रमुख अतिथि थिइन । अन्तरक्रिया कार्यक्रममा वडाले आ.व. २०८१/०८२ मा गरेका कामका आधारमा उत्कृष्ठ महिला समूह छनोट गरी प्रमाणपत्रसहित सम्मान पनि गरेको छ । वडा कार्यालयले महिला समूहले पेश गरेको प्रतिवेदनका आधारमा विज्ञ समूहमार्फत मूल्याङकन गरी उत्कृष्ठ महिला समूह छनोट गरिएको वडाअध्यक्ष वीरेन्द्र महर्जनले जानकारी दिए । घोषित नतिजा अनुसार सक्रिय महिला समूह तृतीय भएको छ भने कनिख्या मिस पुचः द्धितीय तथा नेवा मिस पुचः प्रथम भएको छ । उत्कृष्ठ महिला समूहहरूलाई बागमती प्रदेशकी खेलकुदमन्त्री केसीले प्रमाणपत्र प्रदान गरिन् । कार्यक्रममा उनले मुलुकमा भएका राजनीतिक परिवर्तनहरूपछि महिलाहरू राजनीतिकसहित सबै क्षेत्रमा क्रमैसँग अघि बढ्दै आएको बताउँदै महिला अघि बढ्दा आर्थिक विकास, सामाजिक विकाससहितका क्षेत्रमा उपलब्धि हासिल हुने बताइन् । उनले अब महिलालाई तालिममा मात्रै सिमित नगरी आय आर्जनमा पनि अघि बढाउनु पर्नेमा जोड दिँदै आफ्नातर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रमका सभापति महानगर २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन वडाले विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गरेको जानकारी दिए । उनले वडाले कोसेली घरको अवधारण कार्यान्वयन गर्न लागेको जानकारी दिए । कार्यक्रममा सेन्ट जेभियर्स गोदावरी स्कुलका प्रिन्सिपलले स्थानीयसँग सहकार्य गर्न विद्यालय परिवार सधै तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । वडा नं. २८ की महिला वडासदस्य तथा कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जनले समूहले महिलालाई एक हुन र उद्यमी बन्न समेत सहयोग गरेको बताइन् । कार्यक्रममा वडा नं. २८ का वडा सदस्य सिद्धिराम महर्जन, वडाकार्यालयका कानुनी सल्लाहकार, २८ नं. वडाका वडा सचिव सनतकुमार थापा, हरिसिद्धी माविका प्रधानाध्यपक आशादेवी महर्जनसहित वडामा क्रियाशील २१ वटा महिला समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।