हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै

शनिबार, पुस २६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ । यसअन्तर्गत कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्म करिब ३०९ मिटर सडक आसपासका ५४ वटा घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ। यसका लागि ९ करोड ४५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ । यस मार्गमा रहेका ६३ घरमध्ये ९ घरधनीले आफैँ अग्रमोहडा सुधार गरिसकेका छन् भने बाँकी घरमा वडा कार्यालय र महानगरपालिकाको समन्वयमा काम अघि बढाइनेछ । परियोजनाअन्तर्गत परम्परागत झ्यालढोका, बालकोनी, पेटी, गारो, बलेँसी र झिँगटी छानाको प्रयोग गर्दै भवनको मौलिक स्वरूप फर्काइनेछ। साथै, सडकमा ढुङ्गा छाप्ने, पाटी–पौवा, मन्दिर, डबली र सामुदायिक संरचनाको पुनरुत्थान पनि गरिनेछ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँ उपत्यकाकै प्राचीन बस्तीमध्ये एक हो, जहाँ पूर्व–लिच्छवी र लिच्छवीकालीन सांस्कृतिक तथा पुरातात्विक अवशेष भेटिएका छन्। ‘हाँडीगाउँको प्राचीनता नरःदे हो, यसलाई जोगाउन गुरुयोजनाअनुसार चरणबद्ध रूपमा काम गरिरहेका छौँ,’ उनले बताए । धार्मिक, सामाजिक तथा सांस्कृतिक जात्रा–पर्वमा निरन्तर प्रयोग हुने यस मार्गको मौलिकता संरक्षणले स्थानीय पहिचानसँगै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार