सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाले आन्तरिक आय घटेपछि बजेट कटौती गरेको छ । शुक्रबार बसेको १८ औँ नगरसभालाई सम्बोधन गर्दै विकास र समृद्धिको यात्रामा प्राकृतिक विपद् र न्यून आन्तरिक आय प्रमुख चुनौतीका रूपमा देखिएको भन्दै प्रमुख गजेन्द्र महर्जनले बजेट कटौती गरेको बताएका हुन् । चालु आर्थिक वर्षका लागि ४१ करोड रुपैयाँ आन्तरिक आयको प्रक्षेपण गरिएकोमा हालसम्म करिब ६ करोड अर्थात् १५ प्रतिशत मात्र प्रगति भएको प्रतिवदेनमा उल्लेख गरिएको छ । विशेषगरी खानीजन्य पदार्थको उपयोग तथा निकासी करको ठेक्का लाग्न नसक्दा प्रक्षेपित २२ करोड रुपैयाँ आम्दानी गुम्न पुगेको र मालपोत रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व समेत लक्ष्यभन्दा निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ । राजस्वमा आएको यो भारी गिरावटले गर्दा नगरपालिकाले आफ्नो बजेट र योजनाहरूमा परिमार्जन गर्नुपर्ने अवस्था आएको हो ।
नगर सभाले चालु आर्थिक वर्षमा केही ठूला परियोजनाहरू कटौती गर्नुपर्ने र उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने साना योजनाहरूमा समेत बजेटको केही प्रतिशत कटौती गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । हिउँदे नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार २०८० सालको भीषण आगलागी र २०८१ असोज ११ र १२ गते आएको विनाशकारी बाढी तथा पहिरोले नगरपालिकाको विकासलाई पछाडि धकेलेको उल्लेख छ । अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार जोखिम न्यूनीकरणका लागि नगरपालिकाले दुईवटा दमकलको व्यवस्थापन गरेको र नगर प्रहरीलाई विशेष तालिम दिएर पूर्वतयारी अवस्थामा राखिएको नगर सभामा प्रस्तुत प्रतिवेदनमा छ । एउटा दमकल गोदावरी नगरपालिका आफैंले खरिद गरेको हो भने अर्को दमकल गोदावरीलाई जापान सरकारले सहयोग स्वरुप उपलब्ध गराएको हो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले यो अवस्थालाई निकास दिन नगर स्तरीय योजनामा १० प्रतिशत कटौती गर्ने गरी आर्थिक ऐन संशोधन गरेको जानकारी दिए । ‘आन्तरिक राजश्व संकलनका लागि कसरी प्रभावकारी रुपमा जान सकिन्छ, यसतर्फ हामीले छलफल अघि बढाएका छौँ, केही न केही निकास पक्कै निस्कन्छ’, उनले भने ।