स्थानीय उत्पादन किनबेच र भेटघाटको थलो बन्दै रामेछाप हाट

बिहीबार, पुस १७, २०८२

रामेछाप । यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाट–बजारहरु बिस्तारै हराउँदै जान लागेका छन् । गाउँ गाउँमा लाग्ने हाटबजार र मानिसहरूको जमघट हिजो आज कम मात्रै देखिन लागेको छ । धेरै ठाउँमा हाटबजार लाग्न छाड्दा पनि रामेछापको रामेछाप बजारमा दशकौँदेखि लाग्दै आएको हाट भने अहिले पनि निरन्तर लाग्दै आएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा बिहीबार लाग्ने हाट सामान किनबेच गर्ने थला मात्र नभएर स्थानीयको भेटघाट गर्ने थलो समेत भएको छ । ‘पुराना इष्टमित्र, साथीभाइ भेट्नु प¥यो भने रामेछाप हाट जानुपर्छ, धेरैसँग भेटघाट हुन्छ, किनमेल नै नहुने मानिसहरु पनि भेटघाटको लागि हाट आउने गर्दछन्’, रामेछाप नगरपालिका–८ का दामोदर घिमिरे भन्छन् । रामेछाप हाट खसी–बोका, कुखुरा, गहत, मस्याङ, राजमा लगायतका गेडागुडी र स्थानीय फलफूल तथा तरकारीको लागि निक्कै प्रख्यात छ । यहाँको हाटमा स्थानीय किसानका उत्पादन खरिद गर्न, सिन्धुली, दोलखा,तथा काभ्रेसम्मका मानिसहरू आउने गर्दछन् । ‘खसी–बोका र गेडागुडीको लागि रामेछाप हाट प्रख्यात छ, भेटघाट गर्ने पनि राम्रो थलो बनेको छ’, रामेछाप नगरपालिका–५ रामपुरका भरतसिं तामाङ बताउँछन् । रामेछाप जिल्लाको सदरमुकाम रामेछाप बजारमा रहेको बेला सदरमुकाम बस्नेहरूलाई तरकारी, फलफूल तथा अन्नपात किन्न सहजताको लागि यो हाट सुरु गरिएको थियो । २ सय ८ वर्षसम्म सदरमुकाम बसेको रामेछाप बजारबाट २०४५ सालमा सदरमुकाम मन्थली स¥यो । तथापि रामेछाप बजारमा लाग्ने बिहीबारे हाट भने अहिले पनि यथावत् नै छ ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार