सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाले बालबालिकाको दाँतलाई स्वस्थ राख्न पालिकाभित्रका विद्यालयबाट कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम सुरु गर्ने गोदावरी नगरपालिका पहिलो स्थानीय तह हो । ‘हेल्थी स्माईल, हेल्थी गोदावरी ’नाम दिइएको उक्त कार्यक्रमको सुरुवात बिहीबारदेखि ठेचोको सरस्वती माविबाट सुरु गरिएको हो । यस कार्यक्रम अन्तर्गत अहिले ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाका समेटिने छन् । गोदावरी नगरपालिकाले एशोसियसन अफ डेन्टल कोअपरेसन इन नेपाल (एडिसिएन) सँग सहकार्य गरी यो कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम अन्तर्गत दाँतलाई स्वस्थ राख्न फ्लोराइडले मुख कुल्ला गरिन्छ । दन्त चिकित्सक डा. अमित खनालले फ्लोराइडले मुख कुल्ला गर्दा दाँतमा किरा नलाग्ने र मुखको स्वास्थ्यलाई स्वथ्य राख्ने बताए ।
उनले भने, ‘मुखको स्वास्थ्यलाई राम्रो बनाउन फ्लोराइड महत्वपूर्ण हुन्छ । ’ नगर प्रमुख गजेन्द्र महर्जनले यो नौलो कार्यक्रम भएको बताए । उनले भने , ‘यसलाई अब गोदावरी नगरपालिका हुँदै देशभर विस्तार गर्नुपर्छ ,यो कार्यक्रम सुरु गर्ने गोदावरी नगरपालिका पहिलो पालिका हो । ’दाँतलाई बलियो र सुरक्षित राख्न बेलैमा ध्यान दिन सके उपचार खर्च गर्नु पर्ने उनले बताए । गोदावरी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘दाँतको उपचार एकदमै महँगो छ, यसलाई मध्यनजर गरेर रोग नै लाग्न नदिने तर्फ सोचेका हौँ । ’ एडिसियनले झण्डै ४० वर्षदेखि गोदावरीको ठेचोमा दाँतलाई स्वस्थ राख्न कार्यक्रम संचालन गर्दै आएको स्मरण गर्दै एडिसियनसँगकै सहकार्यमा पालिकाभर दन्त स्वास्थ्यसँग सम्बन्धित काम गर्न पाउँदा खुशी लागेको बताए । दन्त चिकित्सक डा. अमितका अनुसार हप्तामा एक पटक फ्लोराइडले मुख कुल्ला गर्नुपर्छ । कुल्ला गर्दा मुखको तीसदेखि एक मिनेटसम्म कुल्ला गर्नुपर्छ । र, त्यसलाई निल्नु हुँदैन थुक्नुपर्छ । कुल्ला गर्दा तलमाथि दायाँ वाँया गर्नुपर्छ । एडिसिएनका अध्यक्ष डा. काको हिरो फुकाईले गोदावरी नगरपालिकाकामा तीस वर्षदेखि काम गर्दै आएको स्मरण गर्दै विद्यालयमा यो कार्यक्रम सुरु गर्न पाउँदा निकै खुशी लागेको बताए । दाँतलाई स्वास्थ राख्नबाट सानै उमेरदेखि ध्यान दिनु आवश्यक भएको बताउँदै विद्यालयका विद्यार्थीबाट यो कार्यक्रम सुरु गरेको बताए । उपप्रमुख मुना अधिकारीले भौतिक संरचनासँगसँगै स्वास्थ्य र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको बताइन् । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान दिएको बताउँदै प्रतिस्पर्धा भन्दा सहकार्य महत्वपूर्ण भएको बताए ।