तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न 

गुनासो नआउनेगरी काम गर्न नगरप्रमुख खड्काको निर्देशन 

बुधबार, पुस १६, २०८२

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका दाङले प्रदान गर्ने सेवा र सुविधा तथा विकास निर्माणको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।  तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक तथा चालु आवको प्रथम त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा भएको दोहोरो प्रश्नात्तरको आधारमा विभिन्न ६ बुँदे प्रतिबद्धता गरिएको छ ।  यसरी गरिएका प्रतिबद्धताहरुमा उपमहानगरपालिका भित्रका सडकहरुको स्तरोन्नती तथा गुणस्तर सुधारका लागि काम गर्ने, उपमहानगरपालिका भित्रका कृर्षि क्षेत्र र सडकको खण्डीकरणका लागि भूअध्ययन गरी समाधानको पहलगर्ने, पालिका भित्रका धुलाम्मे र निर्माणाधीन सडकहरुलाई प्राथमिकिकरणमा राखेर काम गर्ने, वडा नम्बर ३ र ९ सँग जोडिने भट्टे देखि शिवपुर सम्मको बाटो फराकिलो गर्न डिभिजन बन कार्यालयसँग समन्वय गरि पहल गर्ने, तुलसीपुर मेट्रो हस्पिटलमा विशेषज्ञ डाक्टरको अभाव रहेकाले परिपूर्ती गर्न यथासक्य पहल गर्ने र उपमहानगरपालिका भित्र कृषि पकेट क्षेत्रको अध्ययन गरी आधुनिक कृषिमा जोड दिने तथा सरसफाई र स्वच्छ उपमानगरपालिकाका लागि कार्य गर्ने रहेका छन् ।  सेवा प्रदायक निकाय र सेवाग्राहीहरुको बीचमा झण्डै ३ घण्टा सम्म चलेको दोहोरो सम्बाद मार्फत उठेका प्रश्न तथा जिज्ञासाको समाधान सुनुवाईमा प्रमुख जवाफदेही बक्ताको रुपमा आसिन नगर प्रमुख टिकाराम खड्का, नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पाध्रे, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले दिएका थिए ।  बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश सुशासन समिति अध्यक्ष तथा ८ नम्बर वडा अध्यक्ष धर्मराज वलीले गरेका थिए । सुनुवाईको शुरुवातमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रगति प्रश्तुतीकरण प्रशासकिय अधिकृत, प्रशासन तथा जनशक्ति विकास शाखाका लेखनाथ आचार्यले गरेका थिए भने चालु आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिक प्रगति प्रशासकिय अधिकृत, योजना बजेट अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमा खड्काले गरेकी थिइन्  भने सार्वजनिक सुनुवाई गर्नुपूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए ।  घुम्ति सार्वजनिक सुनुवाईको अवधारणामा सञ्चालन भएको प्रथम त्रैमासिक सार्वजनिक सुनुवाई वडा नम्बर १, २, ३, ८ र ९ नम्बर क्षेत्रलाई समेटेर वडा नम्बर ८मा सम्पन्न भएको हो । सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा नगर प्रमुख टिकाराम खड्का, नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पाध्रे, सुशासन समिति अध्यक्ष तथा ८ नम्बर वडा अध्यक्ष धर्मराज वली, वडा नम्बर १ का अध्यक्ष हुमाकान्त सापकोटा, वडा नम्बर २ का अध्यक्ष भिम बहादुर योगी, वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर बि.क., वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, अन्य वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, इलाका प्रहरी कार्यालयका प्रमुख होम बहादुर पराजुली, विभिन्न कार्यालयका प्रमुखहरु, टोल बिकास संस्था, बजार ब्यवस्थापन समिति र आम नागरिक गरी दुईसय बढीको सहभागिता रहेको थियो । सुनुवाईमा उठेका सवाल र गरिएका प्रतिबद्धताहरु समाधान गरी गुनासो नआउनेगरी काम गर्न सबै वडा अध्यक्षलाई नगरप्रमुख खड्काले निर्देशन गरेका छन् । सुनुवाई पौष १३ गते सम्पन्न भएको हो ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार