जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

सोमबार, मंसिर २९, २०८२

मगु । हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ । मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन् । जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन् । जिल्ला अस्पताल मुगुका विशेषज्ञ डाक्टर अभिषेक मिश्रका अनुसार उपचारका लागि आउनेमध्ये पाँच वर्ष मुनिका बालबालिका, महिला तथा वृद्धवृद्धाको संख्या बढी रहेको छ । उनका अनुसार आर्थिक अभावका कारण धेरैजसो बिरामी रोग गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेका छन् । डाक्टर मिश्रले जिल्ला अस्पतालबाट सम्भव सबै उपचार सेवा प्रदान गरिएको जानकारी दिँदै भाइरल रोगबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्नेमा जोड दिए । साथै, वृद्धवृद्धामा दमको समस्या देखिने भएकाले घरमै अक्सिजनको व्यवस्था भए उपचारमा सहज हुने उनको भनाइ छ । सदरमुकाम गमगढी आसपासका बस्तीहरुमा भाइरल ज्वरो, रुघाखोकी र दमका कारण छाती, पेट, हातखुट्टा तथा शरीरका विभिन्न भाग दुख्ने, झमझमाउने, टाउको दुख्ने, सिँगान बग्ने, हाछ्युँ बढी आउने तथा खान मन नलाग्ने जस्ता समस्या देखिएको स्थानीयले बताएका छन् । बिरामी मणिचन्द्र कार्कीले गाउँमा हाल धेरैजसो घरमा बिरामी परेको भन्दै राजनीतिक भेटघाटभन्दा पनि औषधिसहित चिकित्सक टोली गाउँगाउँमै पुगेर उपचारको व्यवस्था गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन् । मुगु जिल्लामा फैलिएको सिजनल भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको उपचारका लागि गाउँबस्तीमै पुग्ने स्वास्थ्य शिविर, औषधि आपूर्ति तथा चिकित्सक परिचालन गर्न संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार